काठमाडौँ। केही दिनयता परेको लगातार वर्षापछि देशका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडकखण्ड पुनः सञ्चालनमा आएका छन्। तर, जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर भने अझै सञ्चालनमा आउन सकेको छैन।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असार १५ गते पहिरो खसेपछि अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सालझण्डी–ढोरपाटन सडक खुलाइएको छ।
त्यस्तै, असार १७ गते पहिरोका कारण बन्द भएको पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग र असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्ड पनि पुनः सञ्चालनमा आएका छन्।
यता, असार १७ गतेदेखि अविरल वर्षासँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगाढ खोलामा पहिरो खसेपछि अवरुद्ध भएको जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायले निरन्तर प्रयास गरिरहेका छन्।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने र सडक अवरुद्ध हुने घटना बढिरहेका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई पहिरो प्रभावित क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन, मौसमको अवस्था नियमित रूपमा बुझ्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न आग्रह गरेको छ।




















प्रतिक्रिया