Logo

खेलकुद

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वाटरफाइनलमा



काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप–२०२६ यात्रा अन्तिम १६ मै टुंगिएको छ। आइतबार राति न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक नकआउट भिडन्तमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रच्यो।

लामो समयसम्म गोलरहित बराबरीमा रहेको खेलको ७९औँ मिनेटमा आन्द्रेस स्केल्डेरुपको पासमा स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट फिनिस गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ८९औँ मिनेटमा फेरि स्केल्डेरुपकै पासलाई हालान्डले गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे।

दुई गोलले पछि परेको ब्राजिलले इन्जुरी समयमा एक गोल फर्काए पनि पुनरागमनका लागि त्यो पर्याप्त भएन। निर्धारित समय सकिँदा नर्वे २–१ ले विजयी बन्यो र क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

खेलको पहिलो हाफमै ब्राजिलले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। भीएआरबाट पेनाल्टी पाएपछि ब्रुनो गिमारेसले प्रहार गरेको पेनाल्टी नर्वेका गोलरक्षक ओर्जान नाइलान्डले शानदार रूपमा बचाएका थिए। त्यसपछि पनि भिनिसियस जुनियर, गाब्रियल मार्टिनेली र एन्ड्रिकले सिर्जना गरेका अवसरलाई नाइलान्डले विफल पार्दै टोलीलाई खेलमा जोगाइरहे।

ब्राजिलले बलमा नियन्त्रण राखे पनि नर्वेको अनुशासित रक्षापंक्ति तथा गोलरक्षक नाइलान्डको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न संघर्ष गर्नुपर्‍यो। अन्तिम समयमा हालान्डले देखाएको घातक फिनिसिङले खेलको नतिजा नर्वेको पक्षमा मोडिदियो।

यो जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। हालान्डले यस खेलमा दुई गोल थपेसँगै प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याएका छन् र गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन्। उता, उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिल भने अपेक्षाविपरीत अन्तिम १६ बाटै बाहिरिन बाध्य भएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार ०३:५२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।