Logo

खेलकुद

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वाटरफाइनलमा



काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप–२०२६ यात्रा अन्तिम १६ मै टुंगिएको छ।

आइतबार राति न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो।

नर्वेको जितमा एर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गरे। उनले ७९औँ मिनेटमा आन्द्रेस स्केल्डेरुपको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि ८९औँ मिनेटमा स्केल्डेरुपकै पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे।

दुई गोलले पछि परेको ब्राजिलले इन्जुरी समयमा एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन।

ब्राजिलले पहिलो हाफमै अग्रता लिने अवसर पाएको थियो। भीएआरबाट प्राप्त पेनाल्टीमा ब्रुनो गिमारेसको प्रहार नर्वेका गोलरक्षक ओर्जान नाइलान्डले बचाएका थिए।

त्यसपछि पनि भिनिसियस जुनियर, गाब्रियल मार्टिनेली र एन्ड्रिकका प्रहार नाइलान्डले विफल पारे।

बलमा अधिकांश समय नियन्त्रण जमाए पनि ब्राजिल नर्वेको अनुशासित रक्षापंक्ति र नाइलान्डको उत्कृष्ट गोलकिपिङ तोड्न असफल रह्यो।

त्यसको फाइदा उठाउँदै हालान्डले अन्तिम ११ मिनेटमा दुई गोल गरेपछि नर्वेले ऐतिहासिक जित हात पार्यो।

यो जितसँगै नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याउँदै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन्।

उपाधिको बलियो दाबेदार मानिएको ब्राजिल भने अपेक्षाविपरीत अन्तिम १६ बाटै बाहिरिएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार ०६:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।