काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनो लाई फोन गरी बालोगुनमाथिको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए । बालोगुन बोसनीया एण्ड हर्जगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा रातो कार्ड पाएपछि स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए ।
फिफाको अनुशासन समितिले आइतबार निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनमाथिको स्वतः लागू हुने एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको जनाएको छ । यससँगै उनी सोमबार हुने बेल्जीयम विरुद्धको अन्तिम १६ को खेल खेल्न योग्य भएका छन् ।
२५ वर्षीय बालोगुनले बोस्निया एन्ड हर्जेगोभिनामाथि अमेरिकाले २–० को जित निकाल्दा ६४औँ मिनेटमा रातो कार्ड पाएका थिए । यद्यपि उनले यसअघि प्रतियोगितामा तीन गोल गर्दै अमेरिकाको सफल यात्रामा महत्वपूर्ण योगदान दिएका छन् ।
निर्णयपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत फिफाको निर्णयको स्वागत गर्दै ‘ठिक निर्णय गरेर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद’ दिएका छन् । यद्यपि फिफाको यो निर्णय विवादरहित भने बनेको छैन । बेल्जियम फुटबल महासंघले फिफाले अनुशासनसम्बन्धी नियमको गलत व्याख्या गरेको आरोप लगाउँदै यसबारे उपलब्ध सबै कानुनी विकल्प अध्ययन गरिरहेको जनाएको छ । अमेरिका २०२६ विश्वप कपको क्वार्टरफाइनलमा २००२ पछि पहिलो पटक स्थान बनाउन प्रयासरत छ ।
अमेरिका र बेल्जियमबीच विश्वकपमा पछिल्लोपटक २०१४ फिफा विश्वकपको अन्तिम १६ मा भेट भएको थियो । त्यसबेला बेल्जियमले अतिरिक्त समयमा २–१ को जित निकाल्दै अमेरिकालाई प्रतियोगिताबाट बाहिरिएको थियो, जहाँ अमेरिकी गोलरक्षक टिम हवार्डले ऐतिहासिक १६ वटा बचाउ गरेका थिए ।
अब बालोगुन खेल्न पाउने भएपछि अमेरिकाले २४ वर्षदेखिको क्वार्टरफाइनल पुग्ने प्रतीक्षा अन्त्य गर्ने आशा गरेको छ भने उनको प्रतिबन्धबारे फिफाले गरेको निर्णयमाथि बहस भने अझै जारी छ । एएनआई





















प्रतिक्रिया