Logo

समाचार

विश्वकपमा ‘हाइड्रेसन ब्रेक’ फेरि चर्चामा, म्याराडोनाको पुरानो टिप्पणी भाइरल



काठमाडौं । सन् २०२६ को फिफा विश्वकप जारी रहँदा अर्जेन्टिनी फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाले आठ वर्षअघि दिएको एउटा अभिव्यक्ति फेरि चर्चामा आएको छ। सामाजिक सञ्जालमा उनको पुरानो भिडियो र भनाइ व्यापक रूपमा साझा भइरहेको छ।

सन् २०१८ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा २०२६ को विश्वकप आयोजना गर्ने अधिकार पाएपछि म्याराडोनासँग त्यसबारे प्रतिक्रिया मागिएको थियो। त्यसक्रममा उनले अमेरिका फुटबलभन्दा विज्ञापन व्यवसायमा बढी केन्द्रित रहेको टिप्पणी गरेका थिए।

उनले भनेका थिए, “उनीहरूले विज्ञापनका लागि खेललाई दुई होइन, चार हाफमा विभाजन गर्नेछन्। उनीहरूलाई फुटबलप्रति वास्तविक मोह छैन।”

यद्यपि म्याराडोनाको उक्त अनुमान वास्तविकतामा लागू भएको छैन। २०२६ को विश्वकपका खेलहरू अघिल्ला संस्करणझैँ ४५–४५ मिनेटका दुई हाफमै सञ्चालन भइरहेका छन्। खेलको आधारभूत नियममा कुनै परिवर्तन गरिएको छैन।

तर उच्च तापक्रम भएका खेलहरूमा खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘हाइड्रेसन ब्रेक’को व्यवस्था गरिएको छ।

पहिलो र दोस्रो हाफको बीचतिर छोटो समयका लागि खेल रोक्ने यो व्यवस्थाले खेललाई केही समयका लागि चार खण्डमा विभाजित गरेको अनुभूति गराए पनि यो विज्ञापनका लागि नभई खेलाडीको स्वास्थ्य सुरक्षाका लागि अपनाइएको उपाय हो।

यही ‘हाइड्रेसन ब्रेक’लाई आधार बनाएर सामाजिक सञ्जालमा म्याराडोनाको पुरानो टिप्पणी फेरि भाइरल बनेको हो। केहीले यसले खेलको लय बिगारेको प्रतिक्रिया दिएका छन् भने धेरैले अत्यधिक गर्मीमा खेलाडीको सुरक्षाका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार ०८:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।