Logo

अन्तर्राष्ट्रिय

आयात बढेपछि अमेरिकाको व्यापार घाटा एक वर्षयताकै उच्च



काठमाडौं। आयातमा उल्लेख्य वृद्धि भएपछि अमेरिकाको व्यापार घाटा मे महिनामा एक वर्षभन्दा बढी समययताकै उच्च स्तरमा पुगेको छ।

विश्लेषकहरूले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढाएका कारण व्यापार घाटा फराकिलो भएको बताएका छन्।

अमेरिकी वाणिज्य विभागका अनुसार मे महिनामा व्यापार घाटा अघिल्लो महिनाको तुलनामा ४२.२ प्रतिशतले बढेर ७७.६ अर्ब अमेरिकी डलर पुगेको छ।

सो अवधिमा आयात ३.३ प्रतिशतले बढेर ३९५.३ अर्ब डलर पुगेको भने निर्यात ३.२ प्रतिशतले घटेर ३१७.७ अर्ब डलरमा सीमित भएको विभागले जनाएको छ।

विश्लेषणअनुसार कम्प्युटर उपकरण, सेमिकन्डक्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी हार्डवेयरको उच्च मागका कारण पुँजीगत वस्तुको आयात बढेको छ।

औषधिजन्य सामग्रीको आयातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री ग्रेस ज्विमरले प्रस्तावित उच्च ट्यारिफ लागू हुनुअघि व्यवसायहरूले औषधिजन्य सामग्री अग्रिम रूपमा आयात गरेको हुन सक्ने बताएकी छन्।

विश्लेषकहरूका अनुसार अमेरिकी घरेलु माग बलियो रहनु र सम्भावित ट्यारिफ वृद्धिअघि नै सामान भित्र्याउने व्यवसायिक रणनीतिले पनि आयात वृद्धि र व्यापार घाटा विस्तारमा योगदान दिएको हो।

यसबीच, मध्यपूर्वमा उत्पन्न तनावका क्रममा अमेरिकी कच्चा तेल तथा पेट्रोलियम पदार्थको निर्यात बढेको थियो।

अमेरिका–इरानबीचको समझदारीपछि होर्मुज  ढुवानी क्रमशः सामान्य बन्दै जाँदा पेट्रोलियम निर्यात पनि युद्धअघिको अवस्थातर्फ फर्किन थालेको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार ०७:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।