सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने प्रलोभन देखाएर अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार विशेष सूचनाका आधारमा गए राति प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले बिचौलिया गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, धरान–१५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का साबिन किराँती, धरान–६ का मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का उमेशकुमार चौधरी, धरान–१७ का धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का रोहित मेहता र धरान–११ का विनोद भट्टराई रहेका छन्।
यसअघि पनि प्रहरीले यस्तै आरोपमा झापाको दमक नगरपालिका–१ कुमालचोकका प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपकरामलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिचौलिया गतिविधि नियन्त्रण गर्ने प्रयासस्वरूप असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले प्रतिष्ठानको अनुगमन गरेका थिए।
त्यसक्रममा उनीहरूले अस्पतालभित्र हुने बिचौलिया गतिविधि, अनियमितता र बिरामी ठगी नियन्त्रण गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई आवश्यक कदम चाल्न निर्देशन दिएका थिए।





















प्रतिक्रिया