काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिप्रति गम्भीर आशंका व्यक्त गर्दै सरकारलाई चेतावनी दिएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको दाबी गरेका छन् । उनले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि चलिरहेको उल्लेख गरेका छन् ।
यसैबीच, केही दिनअघि नेपालमा पहिलोपटक सरकारको औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव विशेष समारोहका साथ मनाइएको र उक्त कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमा मुलुकका कूटनीतिज्ञहरूको समेत उपस्थिति रहेको सार्वजनिक भएको दाबी गरिएको छ।
श्रेष्ठका अनुसार यस्ता घटनाले वर्तमान सरकार नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट विचलित हुँदै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशातर्फ अग्रसर भएको आशंकालाई बल पुर्याएको छ । उनका अनुसार, सरकारले नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई व्यवहारमा कमजोर पार्दै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थअनुसार अघि बढेमा त्यसले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतामा गम्भीर जोखिम सिर्जना गर्न सक्छ।
वक्तव्यमा देशभक्त नेपाली जनताले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि असर पर्ने कुनै पनि कदम स्वीकार नगर्ने तथा आवश्यक परे त्यसको सशक्त प्रतिरोध हुने चेतावनीसमेत दिइएको छ।





















प्रतिक्रिया