काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल आउँदा नगद विदेशी मुद्रा ल्याउने व्यवस्थाबारे पुनः स्पष्ट गर्दै प्रतिव्यक्ति अधिकतम ५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी ल्याउन सकिने जनाएको छ।
विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाली तथा विदेशी नागरिकले नेपाल प्रवेश गर्दा ५ हजार अमेरिकी डलरसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) साथमा ल्याउन सक्नेछन्।
उक्त रकमभन्दा बढी विदेशी मुद्रा ल्याएमा भने अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार यो व्यवस्था लागू रहेको स्पष्ट गरेको हो।
बैंकका अनुसार विदेशी मुद्रा भित्र्याउँदा कानुनी प्रक्रिया पालना गर्नुपर्ने भएकाले तोकिएको सीमाभन्दा बढी रकम घोषणा नगरी ल्याएमा कानुनी कारबाही हुन सक्छ।
राष्ट्र बैंकले यसअघि जारी गरेका सूचनालाई दोहोर्याउँदै सर्वसाधारण तथा विदेशबाट आउने यात्रुलाई प्रचलित कानुनी व्यवस्थाअनुसार विदेशी मुद्रा ल्याउन र आवश्यक परे अधिकृत निकायमार्फत सटही गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकका अनुसार यस्तो व्यवस्थाले विदेशी मुद्राको वैध कारोबारलाई प्रवर्द्धन गर्ने, अनौपचारिक माध्यमबाट हुने कारोबारलाई नियन्त्रण गर्ने तथा वित्तीय प्रणालीलाई थप पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया