Logo

राजनीति

स्काउटलाई राजनीति प्रभावमुक्त गर्दै शुद्धीकरण गर्न आवश्यक : राजीव खत्री



काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले नेपाल स्काउटलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै संस्थाको शुद्धीकरण आवश्यक रहेको बताएका छन्।

नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिका प्रमुख आयुक्त सन्तोषकुमार थापा तथा नवनियुक्त सदस्यहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नयाँ नेतृत्वलाई बधाई दिँदै अब परिणाममुखी रूपमा काम गर्ने समय आएको बताए।

‘निर्वाचित सबैलाई बधाई छ। सन्तोषकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ। अब बधाई र शुभकामना लिनेभन्दा पनि काम गर्ने समय हो,’ उनले भने।

सांसद खत्रीले स्काउट नेतृत्वका लागि समय व्यवस्थापन र जिम्मेवारी निर्वाह चुनौतीपूर्ण हुने उल्लेख गर्दै स्काउटिङको मूल भावना अनुरूप समर्पित भएर काम गर्नुपर्ने बताए।

‘स्काउटका लागि एक दिन २४ होइन, ३६ घण्टाको जस्तै हुन्छ भन्ने कुरा हामीले सिकेका हौं। त्यसैले अहिलेको नेतृत्वले सीमित समयमै धेरै जिम्मेवारी पूरा गर्नुपर्ने चुनौती छ,’ उनले भने।

उनले आगामी ११ महिनाभित्र ७५३ स्थानीय तह, सातै प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने दायित्व रहेको बताए।

खत्रीले निर्वाचन सम्पन्न गराउनु मात्र पर्याप्त नभई नेपाल स्काउटको संस्थागत सुधार र शुद्धीकरण पनि नयाँ नेतृत्वको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे।

‘वर्षौंदेखि स्काउटिङ राजनीतिको गोलचक्करमा अल्झिएको छ। अब त्यसबाट मुक्त गर्दै संस्थाको शुद्धीकरण गर्नुपर्छ। यसपटक स्काउटका लागि स्काउट नै हुन जरुरी छ,’ उनले भने।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार १९:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।