काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।
अब मन्त्रिपरिषद्ले सिफारिसमा परेका उम्मेदवारमध्ये एक जनालाई बोर्डको सिइओ नियुक्त गर्नेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको समितिले विकास अर्थशास्त्री याङ्की उक्याब, अर्थशास्त्री मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको हो।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य छन्।
याङ्की उक्याब यसअघि लगानी बोर्डमा परामर्शदाताका रूपमा कार्यरत थिइन्। मनोज पौडेलले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
उनी यसअघि लगानी बोर्डमा अर्थशास्त्रीका रूपमा कार्यरत थिए भने नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एसोसिएटतर्फ केन्द्रीय सदस्य पनि थिए। सुमनमानसिंह बस्नेत पनि अर्थशास्त्री हुन्।
सिइओ छनोटका लागि समितिले जेठ २९ गते आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद असार १८ गतेसम्म थपिएको थियो। आवेदन दिएका आठ जनामध्ये छोटो सूचीमा परेका उम्मेदवारको साउन ७ र ८ गते प्रस्तुति तथा अन्तर्वार्ता लिइएको थियो।
कानुनअनुसार लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री, उपाध्यक्ष अर्थमन्त्री तथा प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ। सिइओको कार्यकाल चार वर्षको हुने कानुनी व्यवस्था छ।
यसअघि बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा राधेश पन्त, महाप्रसाद अधिकारी, सुशील भट्ट र सुशील ज्ञवालीले जिम्मेवारी सम्हालिसकेका छन्।




















प्रतिक्रिया