काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ ।
बिहीबार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई अन्त्य गरी दिगो शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूलाई सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।
सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम र त्यसबाट सर्वसाधारणमा उत्पन्न तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
महासंघले सबै प्रकारका मतभेद तथा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने विश्वास व्यक्त गरेको छ ।
महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको जनाएको छ ।
कुनै पनि बहानामा हुने हिंसा, झडप तथा सामाजिक अशान्तिले कसैको हित नगर्न विज्ञप्तिमा उल्लेख गर्दै यस्ता घटनाले सामाजिक सद्भाव मात्र होइन, सर्वसाधारणको दैनिक जीवन, उद्योग–व्यापार तथा समग्र आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पार्ने बताइएको छ ।
महासंघले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।




















प्रतिक्रिया