Logo

समाचार

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक



काठमाडौं । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त पहलमा ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा उक्त मार्गदर्शन सार्वजनिक गरिएको हो । कार्यक्रममा सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिका संयोजक न्यायाधीश हरिप्रसाद फुयालले अदालती पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन मार्गदर्शन तयार गरिएको बताए ।

उनले मार्गदर्शन तयार गर्ने प्रक्रिया तीन वर्षअघि सुरु गरिएको जानकारी दिए । सुरुमा यसलाई निर्देशिका बनाउने योजना भए पनि पत्रकारिताको स्वतन्त्रतालाई ध्यानमा राख्दै ‘मार्गदर्शन’ का रूपमा ल्याइएको उनले बताए ।

‘निर्देशिका शब्द अलि कडा हुने भएकाले कसैलाई यसरी नै गर्नुपर्छ भन्ने बाध्यकारी व्यवस्था नराखी मार्गदर्शनका रूपमा अघि बढाइएको हो,’ फुयालले भने, ‘पत्रकारहरूको लेखन स्वतन्त्रतामा असर नपरोस् भन्ने उद्देश्यले यसलाई तटस्थ शब्दावलीमा तयार गरिएको छ ।’

उनले कानुन तथा न्याय क्षेत्रको पत्रकारिता विगतको तुलनामा धेरै विकसित भएको उल्लेख गर्दै अदालतसम्बन्धी समाचार सम्प्रेषणमा अझ व्यावसायिकता आवश्यक रहेको बताए । ‘पहिलाको तुलनामा कानुन क्षेत्रको पत्रकारिता धेरै अगाडि बढेको छ । अदालत रिपोर्टिङ पनि व्यवस्थित हुँदै गएको छ,’ उनले भने, ‘तर अझै पनि अदालतसम्बन्धी विषयमा विशेष दक्षता भएको व्यावसायिक अदालत पत्रकारिताको विकास हुन बाँकी छ । अहिले मुख्यधारा सञ्चारमाध्यमभित्र रहेर अदालत रिपोर्टिङ गर्ने अभ्यास भइरहेको छ ।’

मार्गदर्शनले अदालतसम्बन्धी समाचार संकलन, सम्प्रेषण र न्यायिक विषयवस्तुको रिपोर्टिङलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार १६:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।