Logo

अर्थ

डिजिटल कारोबार सुरक्षित बनाउन वित्तीय अनुशासन अपनाउन राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाको प्रयोग बढ्दै गएसँगै प्रयोगकर्तालाई डिजिटल वित्तीय अनुशासन पालना गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर भुक्तानी र डिजिटल वालेटजस्ता सेवाको प्रयोग तीव्र रूपमा विस्तार भइरहेकाले साइबर सुरक्षाप्रति थप सचेत हुनुपर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार प्रयोगकर्ताले युजरनेम, पासवर्ड, पिन र ओटीपीजस्ता गोप्य विवरण कसैसँग पनि साझा गर्नु हुँदैन। बलियो र फरक–फरक पासवर्ड प्रयोग गर्ने, मोबाइल नम्बर वा जन्ममितिलाई पिनका रूपमा नराख्ने तथा बैंकिङ खाताको पासवर्ड सामाजिक सञ्जाल वा इमेलको पासवर्डभन्दा फरक राख्न पनि आग्रह गरिएको छ।

त्यस्तै, सबै खातामा मल्टी–फ्याक्टर प्रमाणीकरण प्रयोग गर्ने, आधिकारिक वेबसाइट र एप्लिकेसनबाट मात्रै सेवा लिने, ब्राउजरमा वित्तीय विवरण सुरक्षित नराख्ने, नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने र अनधिकृत एप डाउनलोड नगर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्न, सार्वजनिक वा असुरक्षित वाईफाईबाट वित्तीय कारोबार नगर्न तथा सम्भव भएसम्म फिङ्गरप्रिन्ट वा फेस आईडीजस्ता बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्न पनि आग्रह गरिएको छ।

राष्ट्र बैंकले सहजै अनुमान गर्न सकिने पासवर्ड, नक्कली वेबसाइट वा एपमार्फत सूचना चोरी, इन्क्रिप्ट गरिएका पासवर्ड क्र्याक गर्ने प्रयास तथा एउटै पासवर्ड धेरै खातामा प्रयोग गर्दा साइबर आक्रमणको जोखिम बढ्ने जनाएको छ।

डिजिटल कारोबार सुरक्षित बनाउन डिजिटल साक्षरता बढाउन, वित्तीय अनुशासन पालना गर्न र कुनै समस्या परे सम्बन्धित बैंक तथा वित्तीय संस्था वा वित्तीय ग्राहक संरक्षण इकाइमा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार ०८:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।