काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय विस्तारसँगै खुद बीमा शुल्क आर्जन र जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भएको छ। तर, व्यवसाय विस्तार र कुल आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा २ अर्ब १८ करोड ८५ लाख ८१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ६३ लाख ४२ हजार रुपैयाँ यस्तो शुल्क आर्जन गरेको थियो। यसअनुसार खुद बीमा शुल्क आर्जन ४२.४५ प्रतिशतले बढेको हो।
कम्पनीको जीवन बीमा कोषको आकार पनि ४०.८३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १४ अर्ब १८ करोड ६२ लाख ४१ हजार रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १९ अर्ब ९७ करोड ७९ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल आम्दानी २९.३४ प्रतिशतले बढेर २ अर्ब ५६ करोड १५ लाख १ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ९८ करोड ३ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो।
कम्पनीको बीमालेख संख्यामा समेत वृद्धि देखिएको छ। समीक्षा अवधिमा कुल बीमालेख संख्या ११.६८ प्रतिशतले बढेर ५ लाख २३ हजार १८७ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीसँग ४ लाख ६८ हजार ४६४ वटा बीमालेख थिए।
कम्पनीको रिटेन्ड अर्निङ १४.४५ प्रतिशतले बढेर ८१ करोड ६४ लाख १९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ७१ करोड ३३ लाख ५५ हजार रुपैयाँ थियो। त्यस्तै, विपत्ति कोषमा ३२ करोड ८८ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३९ प्रतिशत बढी हो। कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमा स्थिर छ।
यसैबीच, कम्पनीको कुल दाबी भुक्तानी ४०.८४ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीले ३७ करोड १२ लाख १२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो भुक्तानी २६ करोड ३५ लाख ७२ हजार रुपैयाँ थियो।
तर, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी भने १२.९० प्रतिशतले घटेर ३३ करोड १८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ। अर्कोतर्फ, कम्पनीको कमिसन खर्च ४१.२८ प्रतिशतले बढेर १८ करोड ५६ लाख ४० हजार रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तारका सूचक सकारात्मक देखिए पनि कम्पनीको नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड १२ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा १०.७८ प्रतिशत कम हो।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १२ रुपैयाँ ६७ पैसाबाट घटेर ११ रुपैयाँ ३० पैसामा झरेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३९ रुपैयाँ १८ पैसा कायम भएको छ।





















प्रतिक्रिया