काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार बिहान काठमाडौंस्थित बालुवाटारबाट अचानक मुस्ताङतर्फ लागेका छन्। प्रधानमन्त्रीको यो भ्रमणबारे उनको सचिवालय र सुरक्षा निकायका अधिकांश संयन्त्रलाई समेत पूर्वजानकारी नदिइएको स्रोतको दाबी छ।
प्रधानमन्त्री शाह अहिले धादिङको गजुरी पुगेका छन्। गजुरीस्थित नेपाली सेनाको भैरव गणमा उनका लागि बिहानको खाना तयार गरिएको थियो। प्रधानमन्त्रीको आगमनबारे नेपाली सेनाबाहेक जिल्लाका अन्य सुरक्षा निकायलाई समेत पूर्वजानकारी नगराइएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहको भ्रमणको औपचारिक कार्यतालिका भने सार्वजनिक गरिएको छैन। उनी शुक्रबार पोखरामा बस्ने हुन् वा सोही दिन मुस्ताङ पुग्ने हुन् भन्ने पनि स्पष्ट छैन। प्रधानमन्त्रीको सचिवालयले भ्रमणको उद्देश्यबारे समेत औपचारिक जानकारी दिएको छैन।
शाह प्रधानमन्त्री बनेपछि यो उनको पहिलो स्वदेश भ्रमण हो। कुनै औपचारिक कार्यक्रम वा पूर्वनिर्धारित कार्यतालिका सार्वजनिक नगरी सुरु गरिएको उनको मुस्ताङ भ्रमणलाई अप्रत्याशित रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाह मुस्ताङ घुमघाम तथा धार्मिक दर्शनका लागि मात्र त्यहाँ जान लागेको हुन् वा जिल्लाको विकास तथा सुरक्षा अवस्थाबारे स्थलगत अध्ययन गर्ने उद्देश्य पनि छ भन्ने स्पष्ट हुन बाँकी छ।
मुस्ताङ पुग्ने क्रममा प्रधानमन्त्रीले कालीगण्डकी करिडोरको सडकको अवस्था, पर्यटकमाथि विभिन्न ठाउँमा लगाइने शुल्क तथा कर, स्थानीय बजारमा बढ्दो महँगी, चीनसँगको कोरोला नाका क्षेत्रमा रहेका पूर्वाधार, सीमा सुरक्षा र विकास निर्माणको अवस्थाबारे स्थलगत जानकारी लिन सक्ने अपेक्षा गरिएको छ।
विशेषगरी कोरोला नाकाको पूर्वाधार र सञ्चालनलाई लिएर स्थानीय व्यवसायी तथा बासिन्दाले लामो समयदेखि प्रश्न उठाउँदै आएका छन्। नाका नियमित रूपमा सञ्चालन गर्न सके मुस्ताङको व्यापार, पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।
प्रधानमन्त्रीको यस भ्रमणका क्रममा कोरोला नाका वर्षभरि सञ्चालन गर्ने तथा नेपालतर्फको भन्सार पूर्वाधारलाई थप व्यवस्थित र व्यापारमैत्री बनाउने विषयमा पनि सरकारले ठोस पहल गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक नभएकाले उनको भ्रमणको कार्यक्रम, बसाइ र मुस्ताङमा हुने सम्भावित भेटघाटबारे भने अझै अन्योल छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको खबर शुक्रबार बिहानै सार्वजनिक भएको हो।
















प्रतिक्रिया