काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले अफ्रिकी बजारमा औपचारिक प्रवेश गरेको छ ।
नामिबियाली अटोमोबाइल वितरक पुप्केविट्ज मोटर्सले बीवाईडीको आधिकारिक प्रतिनिधिका रूपमा काम गर्ने घोषणा गरेसँगै कम्पनीले नामिबियामा बिक्री सुरु गर्न लागेको हो ।
बीवाईडीका सवारीसाधन राजधानी विन्डहोकसहित वाल्भिस बे र ओङ्गेडिभास्थित पुप्केविट्ज मोटर्सका रिटेल आउटलेटमार्फत उपलब्ध हुनेछन् ।
नामिबियाली बजारमा बीवाईडीले डल्फिन, डल्फिन सर्फ, सिलायन ५, सिलायन ६, सार्क ६, सिलायन ७ र सिल पर्फर्मेन्स गरी सात मोडल सार्वजनिक गरेको छ । कम्पनीले यी मोडलमार्फत ग्राहकलाई विद्युतीय तथा विद्युतीकृत सवारीसाधनका विभिन्न विकल्प उपलब्ध गराउने जनाएको छ ।
पुप्केविट्ज मोटर्सका फ्रेन्चाइज एक्जिक्युटिभ निको पिटर्सले नामिबियामा बीवाईडी ल्याउनुको उद्देश्य सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको बताएका छन् ।
उनका अनुसार ग्राहकलाई नयाँ इलेक्ट्रिफाइड मोबिलिटीबारे जानकारी दिने, यसको प्रयोगबारे बुझाउने र बीवाईडीका सवारी प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु पनि कम्पनीको लक्ष्य हो ।
बीवाईडीले विश्वव्यापी रूपमा नयाँ ऊर्जा प्रविधिमा आधारित विद्युतीय तथा विद्युतीकृत सवारीसाधनको विकास गर्दै आएको छ । ऊर्जा दक्षता र वातावरणीय दिगोपनमा विश्वव्यापी चासो बढिरहेका बेला कम्पनीले नामिबियाली बजारमा प्रवेश गरेको हो ।
पिटर्सका अनुसार बीवाईडीका विभिन्न मोडलले नामिबियाली ग्राहकलाई इलेक्ट्रिक मोबिलिटीका फरक–फरक विकल्प अनुभव गर्ने अवसर दिनेछन् । प्रविधि, आराम र आधुनिक फिचरमा बीवाईडीको विश्वव्यापी पहिचानलाई स्थानीय बजारमा विस्तार गर्ने अपेक्षा पनि कम्पनीले गरेको छ ।
बीवाईडीको प्रवेशसँगै पुप्केविट्ज मोटर्सको सवारीसाधन पोर्टफोलियोमा विश्वव्यापी न्यु इनर्जी भेइकल ब्रान्ड थपिएको छ । चिनियाँ अटोमोबाइल ब्रान्डको उपस्थिति पछिल्लो समय नामिबियामा पनि बढिरहेको छ ।
सेप्टेम्बरमा नामिबियाली वित्तीय तथा बजार अनुसन्धान कम्पनी आईजेजी सेक्युरिटिजले सार्वजनिक गरेको तथ्यांकअनुसार हावल, जेटोर र चेरीले नामिबियाको प्यासेन्जर कार बजारमा क्रमशः ५.९ प्रतिशत, ५.८ प्रतिशत र २.३ प्रतिशत हिस्सा ओगटेका छन् ।
चिनियाँ ब्रान्डको बजार उपस्थिति विस्तार भइरहेका बेला बीवाईडीको प्रवेशले नामिबियाको विद्युतीय तथा न्यु इनर्जी भेइकल बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया