गोरखा ।गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
गृहमन्त्री सुदन गुरुङले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन भइसकेको जानकारी दिएका छन् ।
उनका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको छ भने घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ । नदीको बहावसमेत निरन्तर बढिरहेको छ ।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । उनले घटनाबारे जानकारी लिन आफू पनि प्रभावित क्षेत्रतर्फ जाने बताएका छन् । आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन् ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बुधबार बिहान आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुगेको छ ।
उनका अनुसार चुमनुब्री गाउँपालिका–३ का विभिन्न बजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । बिहान करिब ४ बजे बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै सिर्दिबास र धार्चे गाउँपालिकाका विभिन्न बस्तीका बासिन्दालाई पनि सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ । हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया