काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. हेमराज शर्माले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्न संघ तयार रहेको जनाएका छन् ।
संघ स्थापना भएको २३ वर्ष पूरा भएको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष शर्माले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो अभियानले ९० भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
अध्यक्ष शर्माले हालै बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार र राहतसँगै अब दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार रहेको बताए । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ को भावनालाई व्यवहारमा उतार्न गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । उनका अनुसार हालै १० अर्ब रुपैयाँको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनमा आए पनि नागरिकताको विषय पूर्ण रूपमा सम्बोधन नहुँदा लगानीकर्तामा केही आत्मविश्वास कम भएको छ।
नेपालको विकासका लागि बौद्धिक लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न चौथो विश्व ज्ञान सम्मेलन तथा ‘एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमी’ स्थापनाको तयारी गरिएको तथा पहिलोपटक एनआरएन विश्व महिला सम्मेलन र दोस्रो पुस्ताका युवाहरूलाई जोड्ने गरी विभिन्न कार्यक्रमहरू पनि अघि सारिएको उनले बताए ।
अध्यक्ष शर्माले विश्वभरका श्रमिकहरूको हकहित, सुरक्षित आप्रवासन र मतदानको अधिकारका लागि संघले अन्तर्राष्ट्रिय श्रम संगठन, आइओएम र रेडक्रसजस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको र संस्थालाई अझ आधुनिक, समावेशी र पारदर्शी बनाउन अनलाइन मतदान प्रणालीसहितको ‘रिब्रान्डिंग ’ कार्यक्रम सुरु गरिएको पनि जनाए । उनले हालै बाढीपीडितहरूलाई सहयोग गर्ने विश्वभरका गैरआवासीय नेपालीहरूलाई धन्यवाद ज्ञापन गर्दै बडादशैँ, तिहार तथा छठ लगायतका चाडपर्वहरूका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन् ।




















प्रतिक्रिया