एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानमा रहेको नेपाललाई लिग–२ का बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्नुपर्ने दबाब छ। क्यानडाविरुद्धको जितसँगै नेपालले महत्त्वपूर्ण दुई अंक जोडेको छ।
जितपछि नेपाल २६ अंकसहित अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित क्यानडा भने २५ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो। क्यानडाका आरोन जोन्सनले सर्वाधिक ४४ रन बनाए। कप्तान हाम्जा तारिक र श्रेयस मोभ्भाले समान २६ रन जोड्दा अखिल कुमार ३० रनमा अविजित रहे।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए। नेपालले क्यानडाका दुई ब्याटरलाई रनआउटसमेत गराएको थियो।
त्यसअघि टसपछि पहिले ब्याटिङ गरेको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका कप्तान रोहितले १२७ बलमा १०१ रन बनाउँदै शतकीय इनिङ्स खेले। गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे। बासिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाए।
क्यानडाका सुखजिन्दर सिंहले तीन विकेट लिए। जाहिद सिरजाद र अखिल कुमारले समान दुई विकेट हात पारे।
नेपालले शृंखलाको आफ्नो दोस्रो खेलमा मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। एकदिवसीय मान्यता कायम राख्ने लक्ष्यमा रहेको नेपालका लागि बाँकी खेलका नतिजा निर्णायक हुनेछन्।




















प्रतिक्रिया