Logo

समाचार

बुढीगण्डकी बाढीले बगाएपछि आरुघाटमा बेलिब्रिज जडानको तयारीमा खटियो सेना



काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ। यसका लागि नेपाली सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिँदै सेनाले दिनभर चारवटा हेलिकप्टर परिचालन गरेको थियो। उद्धारमा एमआई–१७ हेलिकप्टरसमेत प्रयोग गरिएको थियो।

हेलिकप्टर तथा स्थलमार्गबाट परिचालित सैनिक टोलीले विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको निर्देशनालयले जनाएको छ।

सेनाका अनुसार गोरखाको जगतबाट १७, यारुबाट दुई, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये नौ विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।