Logo

अर्थ

आजदेखि ११ स्थानबाट फरक कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने



काठमाडौं । काठमाडौं उपत्यकामा फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिन्डर बिक्रीवितरण गर्ने स्थान थप गरिएको छ ।

दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपली (भानु ग्यास), ललितपुरको हरिसिद्धि (नेपाल र एचपी ग्यास), कलंकी (गीता ग्यास), खसीबजारस्थित आरके ट्रेडर्स (सीताश्री ग्यास) र सतुंगल (श्रीमाया ग्यास) रहेका छन् ।

यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि (नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास), पेप्सीकोला (सगर ग्यास) र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट (एभरेस्ट र सुगम ग्यास) लिन सकिने व्यवस्था मिलाइएको छ ।

यो साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ । असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् ।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ : ३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार १२:२३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।