रौतहट। विभिन्न बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर सेवाग्राहीको बैंकिङ विवरण चोरी गरी ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीको बैरगनिया घर भई हाल गौर नगरपालिका–३ मा बस्दै आएका २४ वर्षीय मो साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा छन्। प्रहरीले गौर–३ को पोखरिया टोल र गौर–५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन र भिडियो कल गर्ने गरेका थिए।
त्यसक्रममा ‘केवाईसी अपडेट’ गरिदिने तथा प्राविधिक सहयोग उपलब्ध गराउने बहानामा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाई ओटीपी (वान टाइम पासवर्ड) लगायतका गोप्य बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसरी प्राप्त विवरण प्रयोग गरी उनीहरूले सेवाग्राहीका बैंक तथा डिजिटल वालेट खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण गर्ने गरेको प्रहरीको भनाइ छ। हालसम्म विभिन्न व्यक्तिबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा प्रहरीले नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको छ। त्यस्तै, सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, तीन थान एटीएम कार्ड र विभिन्न बैंकका ३० थान डिपोजिट भौचर पनि फेला परेका छन्।
प्रहरीले प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँ उल्लेख गरिएका दुई थान चेकसमेत बरामद गरेको छ। त्यसका अतिरिक्त विभिन्न बैंकका चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा सर्वसाधारणका बैंकिङ विवरण लेखिएका पर्चा पनि फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया