Logo

अर्थ

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा २० प्रतिशत छुट



काठमाडाैं । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा आश्रित परिवारका सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

तर, बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श शुल्क, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू नहुने सम्झौतामा उल्लेख छ।

अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ। स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने प्रावधान पनि सम्झौतामा समेटिएको छ।

कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ। परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ।

दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित तथा गोप्य राख्नुपर्ने सहमति पनि भएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार १६:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।