काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाकाे साँझ विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । तिहारको यस प्रमुख दिनमा हुने उच्च मागलाई धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजामा मुलुकभर सबैभन्दा बढी विद्युत्को माग हुने गरेको छ । उक्त मागअनुसार विद्युत् लोड व्यवस्थापन गरी उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले विशेष तयारी गरेको छ ।
प्राधिकरणले उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्ने जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठकाअनुसार लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
विद्युत्को माग र आपूर्तिलाई सन्तुलित राख्न तथा कुनै पनि प्राविधिक समस्या आउन नदिन प्राधिकरणले विशेष व्यवस्थापन गरेको जनाएको छ । प्राधिकरणका अनुसार २४ सै घण्टा प्राविधिक टोली परिचालन गरिएको छ ।
उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ ।
त्यसैगरी, उच्चस्तरीय समन्वय र अनुगमन भइरहेको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको छ ।
साथै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी जनशक्ति परिचालन र प्रणालीको निगरानीमा समन्वय गरिएको छ । विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा तत्काल नजिकैको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।





















प्रतिक्रिया