Logo

अर्थ

भोटेकोशी बाढी: ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति, पुनरुत्थानमा २ खर्ब १८ अर्ब लाग्ने



काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो ।

आयोगले गत शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । प्रारम्भिक विवरण अनुसार विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको छ ।

ऊर्जा क्षेत्र पुनरुत्थानमा २ खर्ब १८ अर्ब ५८ करोड बराबर लाग्ने छ ।

बाढीका कारण सार्वजनिक र निजी क्षेत्रमा ८९ अर्ब २६ करोड बराबर हानि तथा ४३ अर्ब ५६ करोड बराबर नोक्सानी भएको छ । सार्वजनिक क्षेत्रतर्फ ८२ अर्ब ७९ करोड र ५० अर्ब ३ करोड बराबर हानि–नोक्सानी भएको आयोगको मूल्यांकनले देखाएको हो ।

बाढीका कारण रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । ७ निजी क्षेत्र र ७ नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनी छन् । त्यसबाहेक ६ सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन तथा पोलमा क्षति पुगेको छ ।

बाढीका कारण १ सय ११ मेगावाट रसुवागढी, १ सय २० मेगावाट रसुवा भोटेकोशी, २ सय १६ मेगावाट माथिल्लो त्रिशूली–१, ६० मेगावाट माथिल्लो त्रिशूली–३ ए, २० मेगावाट लाङटाङ खोला, १४.१ मेगावाट देवीघाट, २४ मेगावाट त्रिशूली, २२ मेगावाट चिलिमे, १ सय मेगावाट सुपर त्रिशूली, ५ मेगावाट मैलुङ खोला, १५.६२५ मेगावाट मध्य त्रिशूली गंगा, ३७ मेगावाट माथिल्लो त्रिशूली–३ बी, १४.३ मेगावाट माथिल्लो मैलुङ तथा २४.३६ मेगावाटका ५ सौर्य विद्युत् आयोजनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आईतवार १७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।