काठमाडौँ । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरे पनि देशभरका राजस्व कार्यालय खुला रहने भएका छन् । राजस्व सङ्कलन र करदाताको सहजीकरणलाई ध्यानमा राख्दै आन्तरिक राजस्व विभागले उक्त दिन मातहतका सबै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
विभागले आइतबार सूचना जारी गर्दै ललितपुरस्थित ठूला करदाता कार्यालय, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयसहित देशभरका सबै आन्तरिक राजस्व कार्यालयलाई कात्तिक ३० गते खुला राखेर सेवा प्रवाह गर्न भनेको छ ।
गृह मन्त्रालयले गत कात्तिक ७ गते सूचना जारी गरी कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, उक्त दिन राजस्व परिचालनका दृष्टिले कात्तिक महिनाको मसान्तसमेत पर्ने भएकाले करदातालाई सहज बनाउन कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्न, आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट तथा सुविधाको उपयोग गर्न, बक्यौता फरफारक गर्न र अन्तःशुल्कजन्य वस्तु निष्कासन गर्न सकिनेछ ।
विभागको राजस्व सङ्कलन, बक्यौता तथा तथ्याङ्क व्यवस्थापन शाखाले जारी गरेको पत्रमा राजस्व सङ्कलन गर्ने बैंकहरूसँग समन्वय गरी कार्यालय सञ्चालनको व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।
त्यसैगरी, विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने राजस्व सङ्कलनमा सहजीकरणका लागि नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत जानकारी गराइएको विभागले जनाएको छ ।





















प्रतिक्रिया