काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप कमजोर बनेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १५ लाख रुपैयाँभन्दा बढी खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा १२ करोड ८० लाख रुपैयाँ थियो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानी घट्नु र उत्पादन तथा सञ्चालन लागत बढ्नुले घाटा थप चुलिएको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी घटेको छ भने बिक्री लागत बढेको छ। यसले कम्पनीको कुल नाफामा समेत उल्लेख्य गिरावट ल्याएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ८७ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९० करोड ६० लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको सञ्चालन आम्दानी २ करोड ७० लाख रुपैयाँले घटेको छ।

आम्दानी घटिरहेका बेला बिक्री लागत भने बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ६८ करोड २४ लाख रुपैयाँ रहेको बिक्री लागत यस वर्ष बढेर ७३ करोड १३ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा आएको गिरावट र लागतमा भएको वृद्धिका कारण कम्पनीको कुल नाफा २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १४ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको सञ्चालन नाफामा आएको गिरावट अझै गम्भीर देखिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको कम्पनी चालु आवको सोही अवधिमा ६ करोड ८२ लाख रुपैयाँ सञ्चालन घाटामा पुगेको छ।

यस अवधिमा प्रशासनिक, बिक्री तथा वितरण खर्चसमेत बढेको छ। अघिल्लो वर्ष ४ करोड ३५ लाख रुपैयाँ रहेको यस्तो खर्च यस वर्ष बढेर ५ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, मूल्यह्रास तथा परिशोधन खर्च १७ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ३ रुपैयाँ २१ पैसा कायम भएको छ। कुल इक्विटीसमेत अघिल्लो वर्षको ८ अर्ब ५१ करोड रुपैयाँबाट घटेर ८ अर्ब १४ करोड रुपैयाँमा झरेको छ। कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

कम्पनीले वित्तीय विवरणमा आफ्नो व्यवसाय सञ्चालनमा देखिएका विभिन्न चुनौतीसमेत औँल्याएको छ। आर्थिक मन्दी, विकास निर्माणका गतिविधिमा आएको सुस्तता र सिमेन्टको प्रतिस्पर्धात्मक बजारमा बिक्री मूल्य अपेक्षाअनुसार बढाउन नसक्नुलाई कम्पनीले प्रमुख समस्याका रूपमा उल्लेख गरेको छ।

त्यस्तै, उत्पादन क्षमताको तुलनामा बजारमा सिमेन्टको खपत कम हुनु तथा चुनढुंगा उत्खननका लागि आवश्यक अनुमति प्राप्त गर्न लामो समय लाग्नुलाई पनि कम्पनीले व्यवसाय विस्तार र सञ्चालनका चुनौतीका रूपमा प्रस्तुत गरेको छ।