विराटनगर । नेपाल आयल निगमका इन्धन ट्यांकर चोरी हुने र त्यसमा रहेको तेल गायब पारिने घटना फेरि दोहोरिएको छ । बाराको अमलेखगन्जबाट विराटनगरका लागि डिजेल बोकेर आएको ट्यांकर सुनसरीको इनरुवाबाट चोरी भएको छ । ट्यांकर फेला परे पनि त्यसमा रहेको १ हजार ५८० लिटर डिजेल गायब भएको छ ।
मोरङको विराटनगरका लागि डिजेल लिएर आएको को१ख २३३९ नम्बरको ट्यांकर सोमबार (कात्तिक ३०) इनरुवास्थित सुनसरी आयलको पार्किङस्थलबाट चोरी भएको थियो । पार्किङ गरेर राखिएको ट्यांकर हराएको सूचना पाएपछि खोजीमा खटिएको प्रहरीले इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकमा फेला पारेको थियो ।
प्रहरीले ट्यांकर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा ट्यांकरमा रहेको डिजेलमध्ये १ हजार ५८० लिटर कम भएको पाइएको छ ।
नेपाल आयल निगमको कोसी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार ट्यांकर हराएको जानकारी पाएलगत्तै प्रहरीको सहयोगमा खोजी गर्दा फेला परेको हो । घटनामा संलग्नताको आशंकामा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
चालकको घर पनि ट्यांकर पार्किङ गरिएको स्थाननजिकै रहेको बताइएको छ । घरमा भन्दा पम्पमा गाडी राख्दा सुरक्षित र सहज हुने भएकाले त्यहाँ पार्किङ गरेको चालकले प्रहरीलाई बताएका छन् ।
जनकपुरको ओम ढुवानी सेवाको उक्त ट्यांकर विराटनगरबाट सञ्चालन हुँदै आएको थियो । ट्यांकरको २० वर्षे सञ्चालन अवधि पूरा हुन अब एक महिना मात्रै बाँकी छ । आगामी पुसमा यसको सम्झौता अवधि सकिँदै थियो ।
निगमको व्यवस्थाअनुसार एउटा ट्यांकरको अवधि सकिएपछि ढुवानी कम्पनीले त्यसको सट्टा अर्को नयाँ ट्यांकर सञ्चालनमा ल्याउन पाउँछन् । तर, पछिल्लो चोरीको घटनापछि ओम ढुवानी सेवाले नयाँ ट्यांकर राख्न पाउने प्रक्रिया अघि नबढ्ने निगमका कोसी प्रादेशिक कार्यालय प्रमुख कार्कीले बताए ।
‘यो गाडीको सम्झौता यही पुससम्म मात्रै थियो । म्याद सकिन लागेको र फेरि चोरीको घटनामा परेकाले अब यसको सट्टा नयाँ ट्यांकरको अनुमति निकाल्ने काम रोकिने अवस्था छ,’ कार्कीले भने । उनका अनुसार निगमको केन्द्रीय कार्यालयबाट पनि घटनाको छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
पार्किङस्थलबाटै ट्यांकर चोरी हुने पुरानै समस्या
निगमका इन्धन ट्यांकर पार्किङस्थलबाटै चोरी हुने र तेल गायब पारिने घटना यसअघि पनि पटक–पटक भएका छन् । चालु वर्षको असार ७ गते मोरङको कञ्चनबारीस्थित अग्लो पर्खालले घेरिएको पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल बोकेको को१ख ६१९० नम्बरको ट्यांकर चोरी भएको थियो ।
नवीन ढुवानी सेवाको उक्त ट्यांकर सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–८ स्थित हुलाकी सडकखण्डमा फेला पर्दा त्यसबाट करिब ९७३ लिटर पेट्रोल गायब भएको थियो ।
यसअघि २०७८ भदौ १३ गते विराटनगरस्थित निगमको प्रादेशिक डिपोको पार्किङस्थलबाटै इन्धन बोकेको ट्यांकर चोरी भएको थियो । उक्त घटनामा प्रहरीले विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो ।
त्यस्तै, २०७५ सालमा दुईपटक र २०७७ सालमा एकपटक पार्किङस्थलबाटै ट्यांकर चोरी गरी त्यसमा रहेको तेल गायब पारिएको थियो ।
पटक–पटक यस्ता घटना दोहोरिए पनि इन्धन ढुवानीका साधनको सुरक्षा र पार्किङ व्यवस्थापनमा अपेक्षित सुधार हुन नसकेको पछिल्लो घटनाले फेरि प्रश्न उठाएको छ ।





















प्रतिक्रिया