काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) का संस्थापक अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले परिसंघका पदाधिकारी देशका अग्रणी करदाताका रूपमा सम्मानित हुँदा खुसी व्यक्त गरेका छन्।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सीएनआईका पदाधिकारी सम्मानित भएको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै चौधरीले आफूले वर्षौँअघि देखेको सपना साकार हुँदै गएको अनुभूति भएको बताएका हुन्।
सीएनआई स्थापना गर्दा देशमा सबैभन्दा बढी कर तिर्ने, रोजगारी सिर्जना गर्ने र उद्यमशीलतामार्फत नेपाललाई विश्वभर चिनाउने उद्योगी–व्यवसायीको साझा संस्था बनाउने परिकल्पना गरेको उनले स्मरण गरेका छन्।
‘सीएनआईका पदाधिकारीहरू देशका अग्रणी करदाताका रूपमा अगाडि उभिएका तस्बिर देख्दा अत्यन्तै खुसी लागेको छ। कुनै बेला आफूले देखेको सपना आज साकार भएको अनुभूति भइरहेको छ,’ चौधरीले लेखेका छन्।
उनले सीएनआई स्थापनाका लागि आफूले निकै संघर्ष गरेको स्मरण गर्दै राष्ट्रिय कर दिवसमा सम्मानित सम्पूर्ण उद्योगी–व्यवसायीलाई बधाईसमेत दिएका छन्। आन्तरिक राजस्व विभागले ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८३ मनाएको हो।




















प्रतिक्रिया