काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तेस्रो सिजनको पहिलो क्वालिफायर खेल आज अर्थात् मंगलबार हुँदैछ । जुन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल जित्ने टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीको पनि यात्रा यहिँ सकिँदैन । उसले प्लेअफको दोस्रो खेल जित्ने टोलीसँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।
लुम्बिनी गत सिजनको विजेता टोली हो भने जारी प्रतियोगितामा पनि पहिलो स्थानमा रहँदै प्ले अफ चरणमा प्रवेश गरेको हो । यस्तै, सुदूरपश्चिम एनपीएलका यसअघिका दुबै सिजनमा फाइनल पुगेको टोली हो तर अफसोच नै भन्नुपर्छ सुदूरपश्चिमले उपाधि भने जित्न पाएको छैन ।
त्यसैले आजको खेलमा सुदूरपश्चिम तीनमध्ये तीनै सिजनमा फाइनल पुगेको इतिहास आफ्नो नाममा लेखाउन चाहन्छ भने लुम्बिनी लगातार दुई प्रतियोगिताको फाइनल प्रवेश गर्दै उपाधि रक्षा गर्र्ने अभियानलाई एक खुट्किलो माथि पुर्याउन चाहन्छ । यी दुई टोलीबिच गत सिजनको फाइनल तथा यस सिजनको उद्घाटन खेल खेलेको अनुभव छ । दुबै खेलमा लुम्बिनी विजयी भएको थियो ।
त्यसैले सुदूरपश्चिम आजको खेल जित्दै लगातार ३ खेलको हारको ह्याट्रिक हुनबाट टोलीलाई बचाउने ध्याउन्नमा हुनेछ । तर, सुदूरपश्चिमलाई गत सिजनको फाइनलमा ६ विकेटले तथा जारी प्रतियोगिताको उद्घाटन खेलमा ७ विकेटले हराएको लुम्बिनी लगातार तीन खेल जित्दै सुदूरपश्चिममाथि जीतको ह्याट्रिक गर्न चाहन्छ ।
हेड टू हेड लुम्बिनी र सुदूरपश्चिमको हेड टू हेडको कुरा गर्दा एनपीएलमा यी दुई टोलीबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा दुवैले दुई दुई खेल जितेका छन्। पछिल्ला दुई खेलमा भने लुम्बिनी हावी भएको छ । लुम्बिनी लगातार राम्रो लयमा रहेको कन्सिस्टेन्ट टोलीका रुपमा चिनिन्छ ।लिग चरणमा लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक बराबरी (नतिजाविहीन) उपलब्धि हात पारेको हो ।
लुम्बिनीले पछिल्ला पाँच खेलमध्ये चार खेलमा जित हात पारेको छ। उसो त सुदूरपश्चिम पहिलो सिजनदेखि नै लयमा रहेको टोली हो , पहिलो सिजनको फाइनलमा पुगेपनि जनकपुरसँग पराजित भएको टोली दोस्रो सिजनमा पनि फाइनल पुगेको थियो । तर फाइनलमा लुम्बिनीसँग पराजित हुन पुग्यो । फाइनलका ती दुई पराजयको पिडा भुल्न टोलीले यसपटक केही परिवर्तन गरेको छ ।
टोलीको मुख्य प्रशिक्षकमा पाकिस्तानका पुर्व कप्तान मिसवाह उल हकलाई भित्र्याएको छ । यस्तै हिजो मात्र टोलीले स्कटल्यान्डका ओपनर जर्ज मुन्सिलाई भित्र्याएको छ । ओेपनर विनोद भण्डारीको खराब लयका कारण आजको खेलमा सम्भवतः आज मुन्सिले खेल्नेछन् ।
भण्डारी र यस्तै, पछिल्ला २ खेलबाट फर्ममा फर्किएका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनले सुदूरपश्चिमको टोलीमा बेग्लै उत्साह र आशा थपेको छ । यस्तै, ब्याटिङमा इशान पाण्डे र आरिफ शेखले राम्रो खेल्ने आशामा हुनेछ । यस्तै बलिङमा मूख्यगरी स्कट कुग्लेइन, थरिन्दु रत्नायके, सेफ जैब, अनिल खरेल, अविनाश बोहोरा र हेमन्त धामी रहेका छन् ।
लुम्बिनीमा डी आर्सी सर्ट, निरोशन डिक्बेला, अली शेख,रुबेन ट्रम्पलम्यानलगायत विदेशी ब्याटरका साथै कप्तान रोहित पौडेल, दिलिप नाथ र सन्दीप जोरा रहेका छन् । पछिल्लो खेलमा फर्ममा रहेको संकेत गरेका आरिफ शेखले पनि लुम्बिनीलाई राम्रो शुरुवात दिलाउन सक्ने छन् । बलिङतर्फ ट्रम्पलम्यानसँगै शेर मल्ल, अभिशेष गौतम, किशोर महतो, अली शेखलगायत रहेका छन् । खेल साँझ ५ बजेपछि त्रिवि मैदान कीर्तिपुरमा शुरु हुनेछ ।





















प्रतिक्रिया