Logo

खेलकुद

एनपीएलमा दुई कुशलको अवस्था : एकको ब्याट बल्ल चल्यो, अर्काको अझै प्रतीक्षा!



काठमाडौँ ।एनपीएलमा नाम एउटै, कुशल। दुवै राष्ट्रिय टोलीका चर्चित खेलाडी। दुवै आ–आफ्नो फ्रेन्चाइजका मार्की खेलाडी र कप्तान। समर्थकको अपेक्षा पनि उत्तिकै ठूलो। तर प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। पहिला कुरा गरौँ, कुशल भुर्तेलको। पोखरा एभेन्जर्सका भुर्तेलले बल्ल हिजो काठमाडौं गोर्खाजविरुद्ध विस्फोटक ब्याटिङ गरे। ५१ बलमा ९९ रन।आठ चौका र आठ छक्का।

एनपीएलमा नेपाली ब्याटरको अहिलेसम्मकै ठूलो व्यक्तिगत स्कोर। तर विडम्बना, भुर्तेलको ब्याट चल्दा पोखरा प्लेअफ दौडबाट बाहिरिसकेको थियो। तीन सिजनको तथ्यांक हेर्दा भुर्तेलको प्रदर्शनमा सुधार देखिन्छ। पहिलो सिजन ५४, दोस्रोमा १५६ र यसपालि २३५ रन। तर यसपालि बनाएको २३५ रनमध्ये १६१ रन त केवल दुई इनिङ्सबाट आएका हुन्।

बाँकी पाँच इनिङ्समा जम्मा ७४ रन। अब अर्का कुशल अर्थात् कुशल मल्ल। मल्लको प्रदर्शन यसपालि झन् निराशाजनक छ। पहिलो सिजन आठ इनिङ्समा २२३ रन र नौ विकेट लिएका उनले दोस्रो सिजन सात इनिङ्समा १३५ रन बनाएका थिए। तर यसपालि चार इनिङ्समा जम्मा ५७ रन। उच्च स्कोर १८ रन। स्ट्राइक रेट करिब ८८ मात्रै।

आक्रामक ब्याटिङका लागि चिनिएका मल्लबाट यस्तो प्रदर्शन पक्कै अपेक्षित थिएन। किनकि यही कुशल मल्लले १५ वर्षको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमै अर्धशतक बनाएका थिए। सन् २०२३ मा मंगोलियाविरुद्ध मात्र ३४ बलमा शतक प्रहार गरेर टी–२० अन्तर्राष्ट्रियमा विश्वकीर्तिमानसमेत बनाएका थिए। त्यही विस्फोटक ब्याटरलाई एनपीएलमा हेर्न समर्थक प्रतीक्षारत छन्।

यसबीच भुर्तेलको कप्तानी चमिका करुणारत्नेको हातमा पुग्यो भने चितवनमा अघिल्ला दुई सिजन कप्तानी गरेका मल्लको ठाउँमा यसपालि सिकन्दर रजा आए। तर यी दुई कुशलको कथा अझै फरक छ। भुर्तेलका लागि ९९ रन अर्को सिजनको आशा बनेको छ। मल्लका लागि भने यही सिजन प्लेअफको अवसर बाँकी छ।

टोली प्लेअफमा पुगिसकेको छ। अब समर्थकको एउटै चाहना छ—कुशल मल्लको ब्याट पनि चलोस्। किनकि पुराना कीर्तिमान सम्झेर मात्रै ताली बजाउने होइन, नयाँ इनिङ्समा पनि ताली बजाउन पाइयोस्!

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।