Logo

खेलकुद

एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग चितवनले खेल्ने, काठमाडौंमाथि चितवनको शानदार जीत



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने भएका छन् । आज भएको एलिमिनेटरमा घरेलु टोली काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

२०५ रनको लक्ष्य पाएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको काठमान्डु शुरुदेखि नै दबाबमा रह्यो । काठमाडौँका कुनै पनि ब्याटरले भरपर्दो ब्याटिड गर्न सकेनन् ।

उसका विलियम बोसिस्टोले बनाएको ३७ रन नै सर्वाधिक रह्यो । यस्तै, भीम सार्कीले १७ बलमा अविजित ३० रन बनाए भने सहान अराचिंगेले २४ रनको योगदान गरे । भीमले जारी प्रतियोगितामा आज पहिलोपटक राम्रो रन बनाए । तर उनलाई नवौँ नम्बरमा मात्र ब्याटिडको लागि पठाइएको थियो ।

चितवनले कसिलो बलिड गर्दै काठमान्डुलाई निरन्तर दबाबमा राख्यो । चितवनका रिजन ढकालले ४ विकेट लिए भने उसामा मिरले ३ विकेट लिए । रिजनले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए । यससँगै उनी प्रतियोगितामा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शिर्ष स्थानमा उक्लिएका छन् । यस्तै, उसामा मिरले  ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट हात पारे । यसैगरी कुशल मल्ल र सलाहउद्दिन खानले एक एक विकेट लिए ।

त्यसअघि कमिल मिसराको विस्फोटक शतकको सहयोगमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि श्रीलंकाकाली खेलाडी कमिल मिसराले अविजित १२० रन बनाए । उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरेका थिए । यो एनपीएलकै सर्वाधिक रन समेत हो।यसअघि कर्णाली याक्सका मार्क वाटको नाममा ११३ रनको रेकर्ड थियो। यस्तै, जारी एनपीएलमा यो दोस्रो शतक हो । यसअघि  पोखराका युवराज सिंह सामराले शतक बनाएका थिए।

चितवनले २२ रन जोड्दा २ विकेट गुमाए पनि तेस्रो विकेटका लागि मिसरा र कप्तान रवि बोपाराले १५४ रनको साझेदारी गर्दै ठूलो योगफल तयार पारे । बोपाराले ४२ बलमा ५३ रन बनाए। काठमान्डुका लागि कप्तान करण केसी र राशिद खानले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार २१:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।