काठमाडौं । आइएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ। समूहअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य विस्तार गर्दै समग्र व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउने जिम्मेवारीसहित खड्कालाई उक्त पदमा नियुक्त गरिएको हो।
नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले समूहका विभिन्न कम्पनीको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गरी व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने कामको नेतृत्व गर्नेछन्। साथै, समूहको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्ने जिम्मेवारी पनि उनको हुनेछ।
नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारलाई उनले प्राथमिकतामा राख्ने बताइएको छ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा थिए। डिजिटल वित्तीय सेवाका विभिन्न क्षेत्रमा काम गरेको अनुभवसमेत उनीसँग छ।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहअन्तर्गतका कम्पनी थप सबल बन्ने विश्वास व्यक्त गरेका छन्। डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव उपयोगी हुने उनको भनाइ छ।
नवनियुक्त खड्काले समूहका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा परिणाममुखी काम गर्ने बताएका छन्।
रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्य, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका क्षेत्रमा आइएमई ग्रुपले लगानी विस्तार गर्दै आएको छ।




















प्रतिक्रिया