Logo

अर्थ

शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधार



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २२औँ वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा लामो यात्रामा वित्तीय सुदृढता, गुणस्तरीय सेवा र ग्राहकको विश्वासलाई आधार बनाउँदै कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गरेको छ।

सन् २००४ मा नेपालको १४औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापना भएको शिखर इन्स्योरेन्स सुरुवाती पुँजी र व्यवसायको आकारबाट निरन्तर विस्तार हुँदै आज मुलुककै अग्रणी निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित भएको छ।

स्थापनाका बेला एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पुँजी आधार अहिले तीन अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो नेपालका निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो। त्यस्तै, सुरुवाती अवस्थामा १३ करोड रुपैयाँ रहेको वार्षिक बीमाशुल्क संकलन आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। वार्षिक बीमाशुल्क संकलन एक अर्बबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्‍याउने पहिलो निर्जीवन बीमा कम्पनी पनि शिखर नै हो।

१३ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको कम्पनीले एक दशकभन्दा लामो समयदेखि बीमा बजारमा आफ्नो अग्रणी स्थान कायम राख्दै आएको छ।

कम्पनीको व्यावसायिक सफलताको अर्को महत्वपूर्ण आधार दाबी भुक्तानीलाई मानिएको छ। स्थापनादेखि हालसम्म दुई लाखभन्दा बढी बीमा दाबी फर्छ्योट गरी ३० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ। २०७२ सालको विनाशकारी भूकम्पदेखि जेनजी आन्दोलन र विभिन्न प्राकृतिक विपत्तिबाट प्रभावित बीमितलाई समेत कम्पनीले आर्थिक राहत उपलब्ध गराएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै चार अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीको भनाइ छ। विपद् र जोखिमका कठिन समयमा बीमितको साथमा उभिनु आफ्नो प्रमुख दायित्व भएको कम्पनीले जनाएको छ।

वित्तीय सुरक्षालाई थप मजबुत बनाउन कम्पनीले पुनर्बीमाको बलियो व्यवस्था गरेको छ। कम्पनीसँग सम्झौता गरेका सबै विदेशी पुनर्बीमकको रेटिङ ‘ए’ वा सोभन्दा माथि रहेको छ। साथै, विपद्जन्य जोखिमविरुद्ध उद्योगकै बलियो पुनर्बीमा सुरक्षा रहेको कम्पनीको दाबी छ। इक्रा नेपालबाट ‘एए माइनस’ (AA-) इश्युअर रेटिङ प्राप्त गरेको शिखर उक्त रेटिङ पाउने बीमा कम्पनीमध्ये उच्च स्थानमा रहेको छ।

प्रविधिको प्रयोगमार्फत बीमा सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले ‘डिजिटल शिखर’ सेवा सञ्चालनमा ल्याएको छ। यसमार्फत ग्राहकले अनलाइनबाटै बीमालेख खरिद तथा नवीकरण, भुक्तानी र दाबी प्रक्रियासम्बन्धी सेवा लिन सक्छन्। ग्राहकको सुविधाका लागि कम्पनीले २४ घण्टे कल सेन्टरसमेत सञ्चालन गर्दै आएको छ।

सूचना प्रविधि सुरक्षामा पनि कम्पनीले विशेष ध्यान दिएको छ। शिखर इन्स्योरेन्स नेपालमा आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने एकमात्र निर्जीवन बीमा कम्पनी भएको जनाएको छ।

देशभर सेवा विस्तारलाई प्राथमिकता दिएको कम्पनीले हाल सातै प्रदेशका ७१ जिल्लामा रहेका १२९ कार्यालयमार्फत तीन लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीमा ६८१ कर्मचारी कार्यरत छन्। तीमध्ये करिब ४० प्रतिशत महिला छन्।

कम्पनीले सम्पत्ति, मोटर, सामुद्रिक, इन्जिनियरिङ, हवाई तथा कृषि बीमालगायत विभिन्न क्षेत्रमा ७८ प्रकारका बीमा योजना उपलब्ध गराउँदै आएको छ। व्यक्ति, व्यवसाय, उद्योग तथा समुदायका फरक–फरक जोखिमलाई सम्बोधन गर्ने गरी बीमा सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।

त्यस्तै, कम्पनीको लगानी पोर्टफोलियो पाँच अर्ब १० करोड रुपैयाँ पुगेको छ। उक्त लगानीले पर्यटन, कृषि तथा जलविद्युत्लगायत अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। राष्ट्रिय राजस्वमा गरेको योगदानको समेत आन्तरिक राजस्व विभागबाट कम्पनीले मान्यता प्राप्त गरेको जनाएको छ।

२२ वर्षको यो यात्रामा प्राप्त उपलब्धि बीमित, सेयरधनी, कर्मचारी, अभिकर्ता, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाको निरन्तर विश्वास र सहयोगको परिणाम भएको कम्पनीले जनाएको छ।

आगामी दिनमा प्रविधिको विकासलाई आत्मसात् गर्दै बीमाको पहुँच विस्तार, दाबी व्यवस्थापनमा सुधार र ग्राहककेन्द्रित सेवालाई थप प्रभावकारी बनाउने कम्पनीको योजना छ।

दुई दशकभन्दा लामो यात्राबाट आर्जित विश्वासलाई आगामी दिनमा अझ मजबुत बनाउँदै सुरक्षित, आर्थिक रूपमा संरक्षित र जोखिम सामना गर्न सक्षम नेपाल निर्माणमा योगदान पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।