काठमाडौँ। एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दै नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदै छ। यो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल जित्ने टोली फाइनल प्रवेश गर्ने भएकाले दुबै टोलीका लागि आजको खेल अति महत्तवपूर्ण छ । खेल क्रिवि मैदान कीर्तिपुरमा साँझ ५ बजेपछि शुरु हुनेछ ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको हो भने चितवनले हिजो भएको एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै क्वालिफायर खेल्ने तय गरेको हो । जारी प्रतियोगिताको लिग चरणमा चितवनलाई सुदूरपश्चिमले ५ विकेटले हराएको थियो। तर, पछिल्ला खेलमा चितवनले खेल सुधार गरेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।
काठमान्डुसँगको खेलमा चितवनले २०५ रनको लक्ष्य दिएको थियो भने काठमाडौँलाई १४३ रनमै समेट्दै ६१ रनले पराजित गरेको थियो । यो खेलमा चितवनको बलिङ र ब्याटिङ दुबैतर्फ उत्कृष्ट प्रदर्शन देख्न पाइएको थियो । चितवन आज पनि त्यस्तै खेल दोहोर्याउने ध्याउन्नमा छ । ब्याटिङमा रवि बोपारा, डेभिड मलान लगायतको अनुभवी खेलाडी रहेको चितवनसँग कमिल मिसरा जस्ता ब्याटर पनि छन् ।
जसले एनपीएल इतिहासमै एकै इनिङमा सबैभन्दा धेरै अविजित १२० रन बनाएका छन् । यस्तै उनले जारी प्रतियोगितामा दोस्रो शतक पनि प्रहार गरेका छन् । यस्तै प्रतियोगितामा सर्वाधिक १५ विकेट लिइसकेका रिजन ढकाल पनि चितवनको टोलीमा छन् । सुदूरपश्चिम पछिल्ला खेलमा तुलनात्मक रुपमा कमजोर देखएको छ ।
दीपेन्द्रसिंह ऐरीको एकल प्रदर्शनमा भर परेको जस्तो देखिएको सुदूरपश्चिमको ब्याटिङ कमजोर हुँदा धेरै रन बनाउन सकिरहेको छैन । उनीबाहेक इशान पाण्डेले मात्र ब्याटिङमा भरयोग्य प्रदर्शन गरिरहेका छन् । स्कटल्यान्डका ब्याटर जर्ज मुन्सि पहिलो खेलमा शुन्य मै आउट भएका थिए । तर आज उनको प्रदर्शनमा सुधार आउने आशा सुदूरपश्चिमले गरेको छ ।
यस्तै बलिङमा अविनाश बोहोराको प्रदर्शन खस्किएको छ । यी सबै क्षेत्रमा सुधार गर्दै सुदूरपश्चिम फाइनल प्रवेश गर्न कुनै कसर बाँकी नराख्ने धुनमा हुनेछ । लगातार २ पटक प्रतियोगिताको फाइनल पुगे पनि पराजित हुनुपरेको पीडा विर्सन पनि सुदूरपश्चिमले आजको खेल जित्नुपर्ने छ । आजको विजेताले उपाधिका लागि पर्सि शनिबार लुम्बिनी लायन्ससँग खेल्नेछ।




















प्रतिक्रिया