काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत एवं राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षित उपलब्धी हासिल हुने संकेत नदेखेको बताएका छन् । तर, झिनो आशा भने कायम रहेको उनको भनाइ छ ।
बुधबार नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको समय एकदमै छोटो अवधीको भएकाले धेरै उपलब्धी हासिल हुनेमा आफू विश्वस्त नरहेको बताएका हुन् ।
‘हाम्रोजस्तो सानो मुलुकको जुनसुकै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा ठूलै न्युज बन्ने रहेछ । के के नै हुने हो कि भन्ने लाग्ने रहेछ । नेपाललाई कति फाइदा हुन्छ भन्ने विश्लेषण हुने रहेछ । हरेक किसिमको चासोहरू पाइँदो रहेछ । तर यो नियमित भ्रमण भएकाले धेरै अपेक्षा गर्नु हुँदैन्,’ प्राडा बरालले भने,‘ आज दिउँसो गएर भोलि दिउँसो फर्किने भिजिट त्यति उपलब्धीमूलक होला जस्तो लाग्दैन । के प्राप्त होला, के एजेन्डाहरूमा सहमति होला–नहोला फरक कुरा हो । उहाँ आफ्नै तरिकाले जाँदै हुनुहुन्छ, विज्ञ वा विशेषज्ञहरुसँग छलफल गर्नुभएको छैन । त्यसैले धेरै आशा गरिरहनु परेन ।’
विगतका प्रधानमन्त्रीहरुले विदेश भ्रमणअघि विज्ञ, विशेषज्ञ वा पूर्वराजदूतहरुसँग परामर्श गर्ने वा सल्लाह लिने परम्परा भएपनि यस पटक त्यस्तो नभएको आफूलाई जानकारी रहेको उनले बताए ।
‘अहिलेका प्रधानमन्त्रीजी पर वा भित्र कहाँ बस्नुहुन्छ थाहा छैन । अँध्यारोमा बस्नुहोला हामीलाई थाहा छैन । तर संचारमाध्यममा चाहिँ अनेक किसिमका कुराहरू उठिरहेका छन्, एजेन्डा यस्ता छन्, उस्ता छन्, यस्तो हुनुपर्छ भनिरहेका छन् । तर म धेरै चर्चा गर्न चाहन्न,’ उनले भने ।
यतिबेला भारत र नेपालको सम्बन्ध त्यति गहिरो नबनेको बताउँदै प्राडा बरालले प्रधानमन्त्रीले थोरै मझदारी बढाउनुहोला भन्ने अपेक्षा आफूले राखेको पनि बताए ।
‘प्रधानमन्त्रीजी जेनजी मुभमेन्टको बाइप्रडक्ट मात्र हो । नेता होइन । उहाँसँग धेरै अनुभव पनि छैन । रास्वपा पनि उहाँले बनाउनु भएको होइन रवि लामिछानेले बनाउनु भएको हो । त्यसैले उहाँ जनताले मन पराएका व्यक्ति मात्र भएको तर नेता नभएकाले धेरै कुरामा परिपक्व बन्नुपर्ने देखिन्छ,’ उनले भने ।
प्रधानमन्त्री बालेन्द्र साहको आठ महिनाको अवधी सन्तोषजनक हुन नसकेको बताउँदै बरालले डेलिभरीमा सामान्य सुधार भएपनि प्रतिवद्धताहरु पूरा नभएको औंल्याए ।
नेपाल–भारत रेल संचालन, जारी परियोजनाहरु, सहायता बृद्धि गर्ने कुराहरु सामान्य भएको बताएका डा.बरालले हवाइ उड्डयनको रुट भने खुल्नुपर्ने धारणा राखे । खुला सीमानामा देखिएका समस्याहरु प्राकृतिक भएकाले ठूलो विषय बनाउन नहुने उनको बुझाइ छ ।




















प्रतिक्रिया