काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्बिर भ्रामक र प्रपोगन्डा भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) नामको फेसबुक पेजमा ३ लाख १४ हजारभन्दा बढी फलोअर्स रहेको पेजबाट श्यामकुमार राय नामका व्यक्तिले खनाल नेकपा छाडेर रास्वपा प्रवेश गरेको दाबी गर्दै रवि लामिछानेले उनलाई माला लगाएर स्वागत गरिरहेको तस्बिर सार्वजनिक गरेका थिए।
उक्त तस्बिरबारे नेपाल न्यूज बैंकसँग प्रतिक्रिया दिँदै खनालले आफू रास्वपा प्रवेश गरेको भन्ने खबर झुटो भएको बताए । उनले तस्बिर एआई प्रयोग गरेर बनाइएको र आफ्नो राजनीतिक छविमा भ्रम फैलाउने उद्देश्यले प्रचार गरिएको आरोप लगाए।
‘ मलाई कम्तीमा पनि १० जना साथीहरूले फोन गरिसक्नुभयो। यस्तो खालको फोटो आयो, तपाईं रास्वपामा प्रवेश गर्नुभयो हो भनेर सोध्नुभयो । अनि रवि लामिछानेले माला लगाएर स्वागत गर्नुभयो भन्ने आयो, के हो भनेर सोध्नुभयो। म साह्रै चकित भएँ,’ उनले भने।
साथीहरूबाट तस्बिर मगाएर हेर्दा त्यो गलत, भ्रामक र अमर्यादित तरिकाले गरिएको प्रचार भएको थाहा पाएको उनले बताए । ‘एआई प्रयोग गरेर गरिएको हो भन्ने कुरा पनि स्वतः स्पष्ट छ । एउटा साइबर अपराध हो,’ उनले भने।
खनालले यस्ता गतिविधि नियन्त्रण गर्न सरकारसँग मागसमेत गरे । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एआईको दुरुपयोग गरी भ्रामक सामग्री फैलाउने कार्यलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।
‘म वर्तमान सरकारलाई भन्न चाहन्छु, यस्तो प्रकारको कुशासन बालेन सरकारको नेतृत्वमा कहिलेसम्म जारी रहने, यस्तो गतिविधि नियन्त्रण गर्ने कि नगर्ने, यस्तो अपराध गर्नेहरूलाई गिरफ्तार गर्ने कि नगर्ने र उनीहरूमाथि कारबाही हुने कि नहुने, तपाईंसँग त्यस्ता ऐन छन् कि छैनन् र ती ऐनको कार्यान्वयन हुन्छ कि हुँदैन? यो मेरो देशको प्रधानमन्त्रीलाई प्रश्न हो,’ उनले भने।
उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई पनि डिजिटल प्रविधिको विस्तारसँगै त्यसबाट उत्पन्न हुन सक्ने विकृति र जोखिमबारे गम्भीर हुन आग्रह गरे ।
डिजिटल प्रविधिको प्रयोग आफैँमा नराम्रो नभए पनि त्यसबाट हुन सक्ने जोखिम नियन्त्रण गर्ने संयन्त्र तयार नगरी अघि बढ्दा राष्ट्रिय गोपनीयता र प्रशासनिक सुरक्षामा समेत खतरा उत्पन्न हुन सक्ने उनले बताए ।
खनालले डिजिटल प्रविधिको अनियन्त्रित प्रयोगले साइबर अपराध बढ्ने जोखिम रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । उनले यस्ता अपराध नियन्त्रण गर्न नसक्ने सरकारको आयु लामो नहुने टिप्पणीसमेत गरे।




















प्रतिक्रिया