Logo

समाचार

कर प्रणालीबारे सचेतना जगाउन व्यापारीलाई ‘करदाता शिक्षा’



मुगु । जिल्लाका व्यापारी तथा व्यवसायीहरूलाई कर प्रणाली, कानुनी प्रक्रिया र कर छुटका प्रावधानबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले ’करदाता शिक्षा’ कार्यक्रम गमगढी बजारमा सञ्चालन गरिएको छ ।

कर तिर्ने प्रक्रिया र नीति नियमबारे व्यवसायीहरूमा रहेको अस्पष्टता हटाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय जुम्लाको आयोजना र उद्योग वाणिज्य संघ मुगुको समन्वयमा एकदिने सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको हो ।

कार्यक्रममा सहभागी मुगुका व्यापारीहरूलाई व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बर (पाना नम्बर) र मूल्य अभिवृद्धि कर (भ्याट) लिने, करचुक्ता, आय विवरण डे १, डे २ लगायतका विभिन्न आय विवरण मिलान गर्ने तरिकाबारे विस्तृत जानकारी दिइएको छ।

यस्तै, सामान बिक्री गर्दा अनिवार्य रूपमा बिल बीजक जारी गर्ने नियम, खरिद–बिक्रीको सही खातापाता राख्ने विधि र मासिक, चौमासिक वा वार्षिक रूपमा अनलाइन तथा बैंकमार्फत कर विवरण बुझाउने प्रक्रिया, करपाटी किन राखिन्छ, राख्दा के हुन्छ, नराख्दा जरिवाना कति लाग्छ, मिसम्याच, अन्तःशुल्क, मदिरा र सुर्तीजन्य वस्तुको कारोबारबारे समेत व्यावहारिक प्रशिक्षण तथा जानकारी दिने उद्देश्य तथा साप्ताहिक कर दिवसको अवसरमा मुगुको गमगढी बजार आसपास क्षेत्रका व्यापारीलाई करदाता शिक्षा सञ्चालन गरिएको कर कार्यालय जुम्लाका प्रमुख ऋषिराम अर्यालले बताए ।

यसका साथै, सरकारले आर्थिक ऐनमार्फत साना तथा मझौला व्यवसायीलाई प्रदान गरेका कर छुट, जरिवाना मिनाहा र सहुलियतका विषयमा सहभागीहरूलाई स्पष्ट पारिएको छ। उपभोक्तालाई बिल लिन प्रेरित गर्न लागू गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रम र डिजिटल भुक्तानी (क्यूआर) को प्रयोगका फाइदाबारे पनि सो अवसरमा जानकारी गराइएको थियो ।

करदाता शिक्षा कार्यक्रमले मुगुका व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । कर तिर्ने समय सीमा र नियमबारे स्पष्ट ज्ञान भएपछि ढिलासुस्ती वा अज्ञानताका कारण लाग्ने अनावश्यक जरिवाना र ब्याजबाट जोगिन सहज हुने अनुमान गरिएको छ ।

सामान्य राजस्व कर तिर्न पाना नम्बर लिनकै लागि जुम्ला जानुपर्ने आर्थिक भार बढी पर्ने र एक जना व्यापारीले पाना नम्बर लिन सदरमुकाम पुग्दा आर्थिक १० देखि १५ हजार खर्च लाग्ने भएकाले मुगुका व्यापारीहरू वा व्यवसाय गर्न खोज्ने नागरिकलाई निकै समस्या हुने गरेको उद्योग वाणिज्य संघ मुगुका उपाध्यक्ष जंग बहादुर शाहीले बताए ।

उपाध्यक्ष शाहीका अनुसार विशेषगरी अनलाइन करदाता पोर्टलको प्रयोग गर्न सिकेपछि सामान्य कर विवरण बुझाउन र कर चुक्ता प्रमाणपत्र लिनकै लागि धाउनुपर्ने बाध्यता हट्नेछ।

साथै, सही तरिकाले लेखा राख्दा व्यवसाय पारदर्शी हुने र वार्षिक आम्दानीको हिसाब राख्न पनि सहज हुने जानकारी दिइएको छ ।

जुम्लाबाट आएर मुगुका व्यवसायी तथा व्यापारीहरूलाई करदाता शिक्षा दिनु निकै राम्रो कार्य भएपनि मुगु जिल्लामा विगतदेखि हालसम्म धेरै व्यापारीहरूले करको दायरामा नआई व्यापार व्यवसाय गर्दै आइरहेका छन् र राज्यको कर छली गर्दै आएको गुनासो छ ।

त्यस्ता, व्यवसायीहरुको पहिचान गरी करको दायरामा ल्याउनुपर्ने, समय–समयमा व्यापारीहरूलाई अनुगमन गर्नुपर्ने र करसम्बन्धी शिक्षा समेत वर्षमा तीनचार चोटी दिँदा निकै राम्रो हुने सम्भावना रहेको नेपाल पत्रकार महासंघ शाखा मुगुका कार्यवाहक अध्यक्ष जीवन सेजुवालले बताए ।

करसम्बन्धी सूचना तथा सहयोगका लागि आन्तरिक राजस्व विभागको वेबसाइट हेर्न वा गमगढीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय र उद्योग वाणिज्य संघ मुगुमा सम्पर्क गर्न सकिने भएकाले उद्योगी, व्यापारी र करदाताहरूलाई यी निकायमा सम्पर्क राख्न आन्तरिक राजस्व कार्यालय जुम्लाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।