नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ। त्यसपछि जुन ३ मा इंग्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेछ।
नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ। त्यसपछि जुन ९, ११ र १२ मा सोही टोलीसँग तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सहकार्यमा हुन लागेको यो भ्रमणलाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षमा नेपाल र एमसीसीबीच क्रिकेट विकास, युवा खेलाडीलाई अवसर तथा अन्तर्राष्ट्रिय साझेदारीका क्षेत्रमा सहकार्य हुँदै आएको छ।
एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सामाजिक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा क्रिकेट सहभागिता तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्।
एमसीसीका अनुसार गत वर्ष यी परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए। यसैगरी, एमसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)सँगको सहकार्यमा गत वर्ष ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ पनि सुरु गरेको थियो।
पत्रकार सम्मेलनमा एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा थप बलियो बन्दै गएको बताए। उनले नेपालीमा क्रिकेटप्रतिको असाधारण लगाव रहेको उल्लेख गर्दै खेलले मानिसलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
क्यानका सचिव पारस खड्काले लड्र्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए। एमसीसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो। उनले भ्रमण सफल बनाउन सहयोग गर्ने बंगलादेश क्रिकेट बोर्ड, क्रिकेट आयरल्यान्ड, क्रिकेट स्कटल्यान्ड तथा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)लाई धन्यवाद दिए।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले बंगलादेशजस्तो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पूर्ण सदस्य राष्ट्रसँग लड्र्समा खेल्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताए। उनले यस अवसरका लागि एमसीसीसहित सम्बन्धित सबै क्रिकेट संस्थाप्रति आभार व्यक्त गरे।




















प्रतिक्रिया