Logo

खेलकुद

सुदूरपश्चिमको एनपीएल यात्रा, कसरी बन्यो तेस्रोपटकमा च्याम्पियन



काठमाडौँ। सुदूरपश्चिम रोयल्स तेस्रो नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको विजेता बनेको छ । नेपाली क्रिकेटको उर्वर भूमि भन्न मिल्ने सुदूरपश्चिम क्षेत्रको ठुलो फ्यान फलोइङ् रहेको यो टोली तीनै पटक एनपीएलको फाइनलमा पुग्दै आफु अब्बल रहेको प्रमाण दिइसकेको थियो । तैपनि यसअघिका दुई सिरिजमा जस्तै यसपटक पनि फाइनलमा पराजित हुने र उपविजेतामै सिमित हुने हो कि भन्ने चिन्ता धेरैलाई थियो ।

एकातिर यसपटक सुदूरपश्चिमको टोलीको प्रदर्शन औसत मात्र थियो भने अर्कोतिर फाइनलमा पुगेको थियो लुम्बिनी । जुन टोलीसँग सुदूरपश्चिम पछिल्ला तीन खेलमध्ये तीन खेल मै पराजित हुनुपरेको थियो । लिग चरणमा पनि लुम्बिनीले एक खेल मात्र हारेको थियो र आफु यसपटक पनि विजेता बन्ने दाउमा रहेको कुरा दर्शाइसकेको थियो ।

जारी सिजनको उद्घाटन खेलमा लुम्बिनीसँग पराजित भएको टोली पहिलो क्वालिफायरमा लुम्बिनीसँगै पराजित हुनु परेपछि नराम्ररी झस्केको थियो पनि । त्यसैभएर दोस्रो क्वालिफायरमा कप्तान दीपेन्द्रसिंह ऐरीले आफु क्रिजमा रहेर खेल्दा भन्दा धेरै तनाब डगआउटमा रहँदा लिनुपरेको बताएका थिए । फाइनलमा टस हारेर बलिङ् रोजेको सुदूरपश्चिमले औसत मात्र बलिङ गर्न सक्यो ।

लुम्बिनीले ६ विकेट गुमएर १५५ रन बनाउँदै १५६ रनको लक्ष्य दियो । यो लक्ष्य त्रिवि मैदानमा औसत थियो । तर, ब्याटिङको फर्ममा नभएको ठानिएको सुदूरपश्चिमले यो लक्ष्य भेट्टाउन नसक्ने खतरा थियो भने बलियो बलिङ रहेको लुम्बिनीसँग यो लक्ष्य भेट्टाउन सहज नहुने लख काट्नेहरु धेरै थिए । तर, पहिलो बल नै बाउन्ड्रीबाट शुरु भएको सुदूरपश्चिमको जवाफी ब्याटिङ रोकिएन ।

निरन्तर आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमले जित हात पार्ने आधार मात्र तयार पारेन लुम्बिनीका बलरलाई बलियो चुनौती पेश गर्न थाल्यो । ओपनर जर्ज मुन्सीले विस्फोटक पाली खेले । उनलाई सुदूरपश्चिमले लिग चरणका खेल सकिएपछि मात्र टिममा अनुबन्ध गरेको घोषणा गरेको थियो । आक्रामक यी स्कटिस ब्याटरले शुरुका दुई खेलमा टीमको भरोसा अनुसारको खेल खेल्न सकेनन् ।

आफ्नो पहिलो खेलमा उनी लुम्बिनीका बलर रुविन ट्रम्पलम्यानको बलमा पहिलो ओभरमै आउट भएका थिए । चितवनसँगको आफ्नो दोस्रो तथा टोलीका लागि निकै महत्तवपूर्ण खेलमा पनि उनी चल्न सकेनन् । मात्र ८ रन बनाएर आउट भए । तर फाइनल खेलमा भने उनले जादु नै देखाए । उनले आफ्नो विष्फोटक क्ष्माता त देखए नै किन सुदूरपश्चिमले अन्तिम ३ खेलका लागि उनलाई अनुबन्ध गरेको थियो भन्ने पनि प्रमाणित गरिदिए ।

विनोद भण्डारी, आरिफ शेखलगायत ब्याटर नचलेर तनाबमा रहेको सुदूरपश्चिमलाई उनले बलियो शुरुवात दिनुपर्ने जिम्मेवारी थियो । जुन जिम्मेवारी मुन्सीले पुरा गरे । उनले मात्र ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रन बनाए । उनले मैदानका चारैतिर चौका र छक्का प्रहार गर्दै बाउन्ड्रीबाट मात्र १०८ रन बनाएका थिए ।

उनलाई २७ बलमा ३ चौकासहित ३० रन बनाएर विनोद भण्डारीले साथ दिए । यसको अर्थ हो मुन्सी र भण्डारीले आफुहरुलाई दिएको जिम्मेवारी पूरा गरे । जसले गर्दा लुम्बिनी पराजित मात्र भएन १० विकेटको फराकिलो हार ब्यहोर्न बाध्य भयो । दोस्रो पालीमा लुम्बिनीले कुनै पनि बेला सुदूरपश्चिमलाई दबाबमा राख्न सकेन ।

लुम्बिनीका बलरको सबैभन्दा किफायती बलिङ नै ९ दशमलव ७ रह्यो । यसरी लिग चरण र फाइनल प्रवेशका लागि निकै संघर्ष गरेको सुदूरपश्चिमले फाइनलमा यति शानदार जित हात पार्यो कि जसले यसअघिका फाइनलका दुई हारलाई मात्र होइन लुम्बिनीसँगको लगातार तीन खेलको हारलाई पनि विर्साइदियो ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।