Logo

अर्थ

वाणिज्य बैंकहरूमा थुप्रियो ४८ अर्बभन्दा बढी गैरबैंकिङ सम्पत्ति, कुन बैंकको अवस्था कस्तो ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा असुल गर्न नसकेर धितो लिलाममार्फत आफ्नो स्वामित्वमा लिएका घरजग्गा तथा अन्य सम्पत्ति बिक्री हुन नसक्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको आकार बढ्दै गएको छ । पछिल्लो एक वर्षमा मात्रै बैंकहरूको यस्तो सम्पत्ति १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको तथ्यांकअनुसार १९ वटा वाणिज्य बैंकमा ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेकका बैंकहरूको यस्तो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिमा ४३ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा १९ वाणिज्य बैंकमध्ये १४ वटाको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ५ वटाको घटेको छ । बैंकहरूमध्ये सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा थुप्रिएको छ । यता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा यस्तो सम्पत्ति सबैभन्दा उच्च दरले बढेको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार असोजसम्म हिमालयन बैंकमा ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ७.४० प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत वर्षको तुलनामा बैंकको यस्तो सम्पत्ति ५०.९४ प्रतिशतले बढेको हो । गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकमा ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँबराबरको सम्पत्ति थुप्रिएको छ । प्राइम बैंकको यस्तो सम्पत्ति एक वर्षमा २९.११ प्रतिशतले बढेको छ ।
अर्कोतर्फ, राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति रहेको छ । समीक्षा अवधिमा बैंकको यस्तो सम्पत्ति २७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजको तुलनामा यो ८.०३ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी र एभरेष्ट बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाउन सफल भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार १३:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।