काठमाडौं। नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरेको छ। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार २९औँ वर्षमा प्रवेश गरेको हो।
चितवन को- ई समूहअन्तर्गत सञ्चालित मनकामना केबलकार सन् १९९८ मा स्थापना भएको थियो। सञ्चालनमा आएदेखि हालसम्म केबलकारले २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ।
कम्पनीले ७ मंसिर २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा नेतृत्वमा स्थापना भएको मनकामना केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
२८ वर्षको यात्रा पूरा गरेको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले यात्रुहरूको निरन्तर विश्वास र सहयोग, कर्मचारीहरूको मेहनत तथा समर्पण र पर्यटन एवं आतिथ्य क्षेत्रका साझेदारहरूको सहकार्यलाई आफ्नो सफलताको प्रमुख आधारका रूपमा लिएको छ।
यसैगरी, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालय र सम्पूर्ण शुभेच्छुकप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा पनि यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै मनकामना दर्शनको अनुभवलाई थप उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




















प्रतिक्रिया