Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले संयुक्त शिलान्यास गर्दै ६६९ मेगावाटको तल्लो अरुण, करिब १ खर्ब लगानी



काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन्।

नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम तय भएको हो। एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार शिलालेख अनावरण कार्यक्रमको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिनेछ।

संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। आयोजना विकास सम्झौता पीडीए अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० ढाँचामा आयोजना निर्माण गरिनेछ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको काम भइरहेको छ। हालसम्म २५३ परिवारलाई ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण गरिसकिएको कम्पनीले जनाएको छ।

आयोजना निर्माणबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन्। निर्माणस्थलमा पर्ने ६५६ जनालाई मुआब्जा वितरण गर्ने योजना छ। त्यसका लागि एक अर्ब ४० करोड रुपैयाँ छुट्याइएको छ। प्रभावित क्षेत्रको जग्गाको मूल्यांकन प्रतिरोपनी पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ।

तल्लो अरुणको संरचना निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनासँग जोडिएको छ। अरुण तेस्रोबाट विद्युत् उत्पादन भएपछि निस्कने पानीलाई खाँदबारी नगरपालिका–२ चेवाबेसीबाट १७।३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याइनेछ।

लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते आयोजना विकास सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ।

आयोजना निर्माण सम्पन्न गर्न पाँच वर्षको अवधि निर्धारण गरिएको छ। व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामा नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार ०८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।