Logo

प्रमुख समाचार

शाहको नयाँ दिल्ली भ्रमणः यस्तो छ हैदरावाद हाउसमा प्रधानमन्त्रीको ‘टाइमलाइन’



काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने कार्यक्रम छ।

भ्रमणको दोस्रो दिन आज बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। सो अवसरमा उनलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ। त्यसपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

राजघाटको कार्यक्रमपछि हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच विभिन्न सहमति तथा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ। त्यसलगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री शाहले आजै दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा विभिन्न समझदारीपत्र ९एमओयू० आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ।

दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आज साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार ०७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।