Logo

Technology

‘एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै’



काठमाडौं । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले कृत्रिम बुद्धिमत्ता एआईले विश्वव्यापी आर्थिक, रणनीतिक तथा सैन्य शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याइरहेको बताएकी छन्।

मंगलबार संघीय संसद्मा सम्बोधन गर्दै विदेशमन्त्री वोङले एआईलगायत उदीयमान प्रविधिको तीव्र विकासले मानव जीवन, अर्थतन्त्र र सैन्य संरचनामा नयाँ चुनौती तथा अवसर सिर्जना गरिरहेको उल्लेख गरिन्।

उनका अनुसार पछिल्लो समय विकास भइरहेका प्रविधि विगतका ठूला प्राविधिक क्रान्तिभन्दा निकै तीव्र गतिमा विस्तार भइरहेका छन्। यस्ता प्रविधिको दीर्घकालीन प्रभाव कस्तो हुने भन्ने विषय अहिले नै यकिन गर्न कठिन रहेको उनको भनाइ छ।

वोङले अत्याधुनिक एआई विकासको प्रतिस्पर्धामा गति र नवप्रवर्तनलाई मात्र प्राथमिकता दिन नहुने बताउँदै सुरक्षा, सावधानी र जिम्मेवारीलाई पनि उत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिइन्।

यसका लागि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्यलाई प्राथमिकता दिएको उनले बताइन्। विभिन्न देशबीच आपसी विश्वास अभिवृद्धि गर्दै प्रविधिको विकासबाट उत्पन्न हुन सक्ने चुनौती समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।

यसैबीच, अस्ट्रेलिया सरकारले एआई विकास गर्ने कम्पनीका लागि नयाँ अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार एआई विकासकर्ताले सुरक्षा उल्लंघनसम्बन्धी घटनाको जानकारी गराउनुपर्नेछ भने आफ्ना एआई मोडेलको स्वतन्त्र सुरक्षा मूल्यांकनसमेत गराउनुपर्ने व्यवस्था गरिनेछ।

नयाँ नियम कार्यान्वयन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको तयारी छ। नियम उल्लंघन गर्ने कम्पनीलाई आर्थिक जरिवाना लगाउन सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

विदेशमन्त्री वोङले अस्ट्रेलिया एआई प्रविधिमा लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने पक्षमा रहेको स्पष्ट पार्दै यसबाट प्राप्त हुने लाभ सबै अस्ट्रेलियाली नागरिकसम्म पुग्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार २०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।