Logo

राजनीति

फोहोरमैला व्यवस्थापन विधेयकमा दण्ड र सजायसँगै जनचेतना समेट्न सुझाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन दण्ड र सजायमा मात्र केन्द्रित नभई जनचेतना, प्रोत्साहन तथा व्यावहारिक पक्षलाई समेत समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।

‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भट्टराईले फोहोर व्यवस्थापनलाई समग्र वातावरण, वन, खानेपानी, स्वास्थ्य र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापनलाई दण्ड र सजायमा मात्र सीमित गर्नु हुँदैन । यससँगै जनचेतना अभिवृद्धि, प्रभावकारी कार्यान्वयन र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने व्यवस्था पनि समानान्तर रूपमा अघि बढाउनुपर्छ । फोहोर व्यवस्थापनलाई वातावरण, वन, खानेपानी, स्वास्थ्य र सामाजिक न्यायसँग जोडेर समग्र रूपमा हेर्न आवश्यक छ ।’

विधेयकको प्रारम्भिक अध्ययन र सरोकारवालाका सुझाव सुन्दा विषयलाई अझ गहिराइमा पुगेर विश्लेषण गर्नुपर्ने आवश्यकता महसुस भएको उनले बताइन् । उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापनका विषयमा शब्दावली र कानुनी व्यवस्थामा मात्र सीमित नभई त्यसको वास्तविक अवस्था र स्थानीय तहमा देखिएका समस्यालाई समेत समेट्नुपर्छ ।’

आफू इटहरीको भएको उल्लेख गर्दै उनले तुलनात्मक रूपमा त्यहाँ फोहोर व्यवस्थापनको व्यवस्था राम्रो देखिए पनि स्थानीय सरकारबीच पर्याप्त साझेदारी र समझदारी नहुँदा समस्या उत्पन्न हुने गरेको बताइन् ।

विशेषगरी साँझको समयमा वन क्षेत्रमा हुने फोहोर जलाउने कार्यले धुवाँ र प्रदूषण बढाउँदा सर्वसाधारणलाई हिँडडुल गर्न तथा श्वासप्रश्वास गर्नसमेत कठिनाइ हुने गरेको उनको भनाइ थियो ।

भट्टराईले विधेयकमा कसुर र सजायका व्यवस्थालाई प्राथमिकता दिइएको देखिए पनि त्यससँगै जनचेतना अभिवृद्धि, नियमको प्रभावकारी कार्यान्वयन र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था पनि समेट्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १९:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।