काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फ्रेन्चाइज टोलीका मालिकहरूसँग छलफल गरेका छन्।
मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका मालिकसँग लिगलाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न आवश्यक पूर्वाधार र सम्भाव्यताबारे चासो राखेका थिए। उनले टोलीका मालिकहरूसँग एनपीएलका पछिल्ला तीन संस्करणका अनुभवसमेत सुनेका थिए।
नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले होम एन्ड अवे अवधारणामा एनपीएल सञ्चालन गर्ने विषयमा प्रारम्भिक छलफल भएको जानकारी दिए। उनका अनुसार होम एन्ड अवे प्रणाली आवश्यक भए पनि कुन भौगोलिक क्षेत्रलाई प्राथमिकतामा राख्ने र त्यहाँ कस्तो पूर्वाधार विकास गर्ने भन्ने विषय महत्त्वपूर्ण छ।
‘होम एन्ड अवे आवश्यक छ। तर, कुन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने विषयमा स्पष्ट हुनुपर्छ,’ खड्काले भने। उत्साह र भावनामा मात्रै निर्णय लिनुभन्दा आवश्यकताको मूल्यांकन गरेर अघि बढ्नुपर्ने उनको धारणा छ।
खड्काले भौगोलिक क्षेत्रअनुसार क्रिकेट रंगशालाको आवश्यकता पहिचान गर्नुपर्ने बताए। रंगशाला निर्माणमा स्थानीय तहसँगको समन्वय र फ्रेन्चाइज टोलीको भूमिका कस्तो रहने भन्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए।
उनका अनुसार दुई–तीन वर्षभित्रै आठवटै क्षेत्रमा क्रिकेट रंगशाला निर्माण गर्नु सम्भव देखिँदैन। यद्यपि, प्राथमिकताका आधारमा कम्तीमा दुईदेखि तीनवटा रंगशाला निर्माण गर्न सकिने उनको विश्वास छ।
एनपीएललाई मात्र केन्द्रमा राखेर पूर्वाधार विकास गर्न नहुने बताउँदै खड्काले अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत ध्यान दिनुपर्ने उल्लेख गरे। आगामी दिनमा हुने विश्वकप छनोटको प्लेअफ तथा अर्को वर्ष बंगलादेशको नेपाल भ्रमणजस्ता कार्यक्रमका लागि पनि क्रिकेट पूर्वाधारको क्षमता विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।
खड्काले एनपीएल सञ्चालनका क्रममा पनि अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशालाको आवश्यकता महसुस भएको बताए। सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा रंगशाला निर्माण तथा स्तरोन्नति गर्नुपर्ने उनको धारणा छ।
उनले मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य लामो समयदेखि जारी रहेकाले सकेसम्म छिटो सम्पन्न गर्नुपर्ने बताए। त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई पनि टुंगोमा पुर्याउनुपर्ने उनको भनाइ छ।
‘सरकारको सबै बजेट क्रिकेटमा मात्रै खर्च गर्नुपर्छ भन्ने होइन। तर, नेपालको अन्तर्राष्ट्रिय क्रिकेट काठमाडौं बाहिर पनि लैजान आवश्यक छ,’ खड्काले भने।
उनका अनुसार आगामी केही वर्षभित्र नेपालमा तीनदेखि चारवटा अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशाला तयार हुन आवश्यक छ।
क्यान सचिव खड्काले मंगलबारको छलफललाई प्रारम्भिक चरणको बैठकका रूपमा व्याख्या गरेका छन्। बैठकमा क्यानका सचिव खड्कासहित एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका मालिक सहभागी थिए।
उनीहरूले होम एन्ड अवे प्रणालीमा लिग सञ्चालन गर्ने सम्भावना, पूर्वाधार विकास र आफ्नो भूमिकाबारे धारणा राखेका थिए।




















प्रतिक्रिया