Logo

चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि



काठमाडौं । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा साउनदेखि कात्तिकसम्म कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो । भन्सार विभागको तथ्याङ्कअनुसार समीक्षा अवधिमा आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको छ ।

चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी, निर्यात १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो चार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

निर्यातको वृद्धिदर आयातको भन्दा ११.७१ प्रतिशत विन्दुले बढी भए पनि व्यापार घाटामा भने कमी आउन सकेको छैन । समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो ।

कुल व्यापारमा निर्यातको हिस्सा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गत वर्षको पहिलो चार महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकामा चालु आवमा बढेर १४.३१ प्रतिशत पुगेको छ । यसले कुल व्यापारमा निर्यातको योगदान बढेको देखाउँछ ।

त्यसैगरी, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ । आयात–निर्यात अनुपात पनि गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा आएको छ । यसको अर्थ अघिल्लो वर्षको तुलनामा आयातको तुलनामा निर्यातको अनुपातमा सुधार आएको हो ।

निर्यातमा उच्च वृद्धिदर देखिए पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले व्यापार घाटा बढ्ने क्रम रोकिएको छैन । समीक्षा अवधिमा निर्यातको हिस्सा बढ्नु र आयात–निर्यात अनुपात घट्नुले वैदेशिक व्यापारको संरचनामा भने सामान्य सुधार भएको संकेत गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।