Logo

समाचार

गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु



सिरहा । सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका स्कार्पियो र चालकको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट सवारीसाधनको पहिचान गरेको थियो। त्यसपछि मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बाह्रबिघामा बस्ने करिब ४२ वर्षीय बिहारी महरा रहेका छन् । प्रहरीले उनलाई बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कार्पियोसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालक र स्कार्पियोलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।